
काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले नेपाल टी–२० मा उत्पन्न समस्याबारे बताएका छन् । उपारिश्रमिकमा नेपाल क्रिकेट संघ (क्यान) र टिम मालिकहरूसँग सहमति भएको बताए ।
मंगलबारको म्याचअघि काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सले पारिश्रमिक नपाएकोमा टसमा सहभागी हुन अस्वीकार गरेका थिए । पछि क्यानले खेलाडी र टिम मालिकहरूसँग कुरा गरेर सहमतिमा ल्याएको छ ।
विराटनगर सुपरकिङ्सको कप्तानी गरेका पौडेलले अहिलेसम्म आफ्नो टिमका कसैले पनि पैसा नपाएको बताए ।
‘टिम मालिकहरूसँग कम्युनिकेसन ग्याप हुँदा समस्या उत्पन्न भएको हो । हाम्रो अभिभावक भएको हिसाबले क्यानसँग गुनासो राखेका हौँ । आज वा भोलिसम्ममा पारिश्रमिक दिने सहमति छ । हामी आशावादी छौं,’ उनले भने ।
अहिले टिम मालिकहरू सम्पर्कमा आएको पौडेलले बताए । खेलअघि उत्पन्न तनावले खेलाडीहरूलाई मानसिक रुपमा असर गर्ने उनको भनाइ छ ।
पौडेलले खेलाडीहरूलाई पारिश्रमिक नदिइएको विषयमा क्यानलाई इमेल पनि गरेका थिए ।