
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको राखु र बास्कुना गाउँका कृषकले सुन्तला बेचेर आ.व. २०७८ ७९मा साढे २ करोड रुपैयाँ आम्दानी गरेका छन्।
उनीहरुले पाखोबारी र धानखेतमा सुन्तला खेती गरेर साढे दुई करोड रुपैयाँ भित्र्याएका हुन्। ६५ घरधुरीले न्यूनतम २० हजारदेखि अधिकतम २१ लाख सम्मको सुन्तला बिक्री गरी गाउँमा डेढ करोड रुपैयाँभन्दा बढी रकम भित्र्याएका हुन्।
परम्परागत बाली लगाउन छाडेर व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका यहाँका किसान पछिल्लो समय सुन्तला खेतीतर्फ आकर्षित भएका बेनी नगरपालिका ३ का वडाध्यक्ष पदम पुन बताउँछन्। राखुकी सन्तकुमारी पुनले यो वर्ष सुन्तला बिक्री गरेर २१ लाख रुपैयाँ आम्दानी गरेको बताइन्।
म्याग्दी जिल्लाको समुन्द्री सतहबाट १ हजार २०० मिटरदेखि १ हजार ६०० मिटरको उचाइसम्म सुन्तला खेती हुने कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ। जिल्लाका ६ वटै स्थानीय तहको ३५५ हेक्टर जमिनमा सुन्तला खेती भइरहेको छ। जिल्लामा वार्षिक १७ करोड हाराहारीमा सुन्तला बिक्री हुने अनुमान कृषि केन्द्रको छ।