
काठमाडौं । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शनिबार पार्टीको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै अन्य दलहरूले मिलेर सरकार बनाएकाले कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने स्पष्ट पारेका हुन् ।
उनले आफ्नो व्यक्तिगत धारणा भए पनि पार्टीको औपचारिक निर्णय भने पुस २६ गतेको बैठकले नै तय गर्ने बताए । उनले अन्य दलहरू मिलेर गठबन्धन बनाएर साझा उम्मेदवार उठाइरहेका बेलामा कांग्रेसले विश्वासको मत दिन्छ भन्ने सोचेर नबस्न आग्रह गरे ।
महामन्त्री थापाले कांग्रेस प्रतिपक्षमा बसेर नै आफ्नो जिम्मेवारी पूरा गर्ने बताए । महामन्त्री थापाले कांग्रेस केन्द्रीय समितिको बैठक पुस २८ मा बस्ने र बैठकले निर्वाचन, राजनीतिक घटनाक्रमबारे विस्तृत छलफल गर्ने बताए ।
उनले गठबन्धन गरेकोदेखि गठबन्धनलाई टिकाउन नसकेका विषयमा केन्द्रीय समितिको बैठकमा गहन, खुला र पारदर्शी छलफल हुने बताए ।