सर्वाेच्चलाई गृहमन्त्री रवि लामिछानेकाे लिखित जवाफ : म नेपाली नागरिक नै हुँ

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज र प्रतिनिधिसभा सदस्य पदसमेत रद्ध गर्ने रिट निवेदनविरुद्ध सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् ।

लामिछानेले बुझाएको लिखित जवाफमा उक्त रिट खारेज गर्न माग गर्दै आफूले नेपाली नागरिकता नत्यागेको हुँदा अमेरिकी नागरिकता त्यागेपछि आफू स्वतः नेपाली नागरिक नै हुने दावी गरिएकाे छ ।

उनले लिखित जवाफमा भनेका छन्, ‘नागरिकता ऐन, २०६३ को दफा ११ ले ‘कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोवास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ’ भनी उल्लेख गरेको तथा उक्त दफा ११ बमोजिम नेपाली नागरिकता कायम गर्ने कार्यविधिको बारेमा नियमावलीको नियम ११ मा उल्लेख गर्दा ऐनको दफा १० को उपदफा (१) अनुसारको कायम नरहेको नागरिकता बारे कुनै पनि कार्यविधि उल्लेख नगरी ‘…नागरिकता त्यागी विदेश गएको कुनै ब्यक्तिले पुनः नेपाली नागरिकता प्राप्त गर्न चाहेमा …’ भन्ने उल्लेख गर्दै नागरिकता त्यागेको निस्सा सहित पहिले नागरिकताको प्रमाणपत्र प्रदान गर्ने मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय समक्ष अनुसूचि ११ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने भनी उल्लेख गरेको पाइन्छ । म लिखित जवाफवालाले नेपाली नागरिकता त्यागी विदेश अमेरीका गएको अवस्था नहुँदा नियम ११ को कार्यविधि अनुसार नागरिकता त्यागी विदेश गएको र पुनः कायम गरी पाउँ भनी हुँदै नभएको झुट्टा विवरण दिई निवेदन गर्न सक्ने अवस्था आउँदैन ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१