‘इसेवा’ १५ वर्षमा प्रवेश, वार्षिक उत्सवको अवसरमा अफरैअफर

काठमाडौं । विद्युतिय माध्यमबाट आर्थिक कारोबार गर्ने संस्था  ‘इसेवा’ ले १४ औँ वार्षिकोत्सव मनाएको छ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ‘इसेवा’ बुधबारदेखि १५ औँ वर्षमा प्रवेश गरेको छ ।

सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले नगदरहित अर्थतन्त्रको परिकल्पना गरेको थियो । मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै इसेवाले डिजिटल अर्थतन्त्र निर्माणमा थप सेवा सुविधा ल्याउने प्रतिवद्धतासमेत जनाएको छ ।

पत्रकार भेटघाट कार्यक्रममा इसेवाका म्यानेजर आशिष गौतमले बुधबार (भोलि) वार्षिक उत्सवको दिनको अवसरमा ईसेवाका अफरहरूका बारेमा प्रष्टयाउनुभयो । वार्षिक उत्सवको अवसरमा इसेवाले बुधवार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कारोबारमा विभिन्न अफरहरू सार्वजनिक गरेको छ । बिहान ९ बजेदेखि १० बजेको १ घण्टा अवधिमा आफ्नो बैंक एकाउन्ट इसेवामा लिंक गरेमा रू १४० क्यास ब्याक प्राप्त हुनेछ ।

बुधबार बिहान १० देखि ११ बजेसम्मलाई डाइमण्ड अफर सञ्चालन हुनेछ । जसमा एक रिवार्ड पोइन्टसहित ७ जना भाग्यशाली विजेताले डाइमण्ड उपहार पाउनेछन् । यसैगरी ११ देखि १२ बजेसम्म मुभि आवर सञ्चालन हुनेछ । यो अवधिमा मुभि टिकट खरिद गर्दा २०० रिवार्ड पोइन्ट प्राप्त गर्न सकिनेछ ।
यसैगरी, १२ बजेसम्म होटल बुक अफर सञ्चालन हुनेछ । यो अवधिमा होटल बुक गर्दा विभिन्न होटलमा कोठाहरु निःशुल्क प्राप्त गर्न सकिनेछ । यस्तै, १ देखि २ बजेसम्म भौचर मेला आवर सञ्चालन हुनेछ । जसमा विभिन्न किसिमका डिस्काउन्ट भौचर प्राप्त गर्न सकिनेछ । यसैगरी, २ बजेदेखि ३ बजेसम्म क्यासब्याक अफर सञ्चालन हुनेछ ।

यस अवधिमा मोबाईल टपअप, एयरलाइन्स् टिकट, इन्टरनेट टिभीको बिल भुक्तानी, विद्युत महशुल भुक्तानीमा १४ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ । यसैगरी ३ देखि ४ बजेसम्म मेरोसेयर अफर सञ्चालन हुनेछ । यो अवधिमा रु ५० सम्मको शत प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिनेछ ।
इसेवा नगदरहित अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पुर्याउन सफल भएको छ । १४ वर्षको अवधिमा इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ७० लाख नाघेको छ । यसैगरी, अप्रत्यक्ष रूपमा करिब एक करोड ७० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् ।

पत्रकार सम्मेलनमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले प्रयोगकर्ताको दैनिकी कसरी सहज बनाउन सकिन्छ भन्ने कुरामा केन्द्रित रहेको बताएका छन् । आगामी दिनमा वित्तीय सेवालाई सहज बनाइ डिजिटल अर्थतन्त्रलाई बलियो बनाउँदै लैजाने उनको भनाई छ ।

उनले भने, ‘ हामीलाई यस अवस्थासम्म ल्याउन सहयोग गर्नुहुने आम नेपाली, प्रत्यक्ष र अप्रत्यक्ष रुपमा इसेवामा जोडिनुभएका प्रयोगकर्ता, हाम्रा साझेदार बैंक तथा वित्तीय संस्था, हाम्रा तीनलाख भन्दा बढी मर्चेन्ट, नियामक निकाय, हाम्रा सम्पूर्ण एजेन्ट नेटवर्क, कर्मचारी तथा मिडियाकर्मी साथीहरू तथा आम सुभचिन्तकको ठूलो सहयोग छ । म तपाईहरूको यो सहयोग र विश्वासलाई विशष धन्यवाद दिन चाहान्छु ।’

इसेवाबाट टेलिफोन, मोबाइल, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० भन्दा धेरै बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

हाल इसेवाका देशभर करिब १ लाख ८५ हजार एजेन्ट रहेका छन् । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि दुर्गम क्षेत्रहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै सहजता ल्याएको छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७