
काठमाडौं । संसद भवन अगाडि आफैंमाथि आगो लगाएर आत्मदाह गरेका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको मृत्युपछि सामाजिक सञ्जालमा धेरैले सरकार यस घटनाको जिम्मेवार रहेको बताएका छन् ।
उनले राज्यका संयन्त्र, राज्य संचालनमा सामाजिक सञ्जाल मार्फत असन्तुष्टि जनाएका थिए । र सरकारलाई विभिन्न सुझाव पनि दिएका थिए ।
आचार्यको आत्मदाहलाई लिएर विभिन्न विश्लेषकहरुले सरकार दोषि रहेको बताउछन् ।
गृहमन्त्री रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, विभिन्न राजनीतिक दलका नेता, कलाकार, बुद्धिजिवीलगायत बोलेका छन्।
आचार्यको उपचारकै क्रममा बुधबार बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको थियो।
काठमाडौका मेयर बालेन शाह फेसबुक स्टाटस मार्फत राज्यको चरम असफलताले आत्मदाह गरेको बताउछन् ।
एकजना नागरिक आफुले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एकजना नागरिक आफुले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एकजना नागरिक संसद भवनको अगाडि आफुमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् । त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो । र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो । उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्दारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन् ।
यस्तै, गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले सरकारप्रतिको निराशाले आत्मदाह गरेको लेख्छन् ।
एउटा नागरिकले अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौ। मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो। दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु।
यस्तै, कांग्रेस नेता डा. शेखर कोइरालाले यस घटनाले राज्य लज्जित भएको बताएका छन् ।
‘यी उद्यमी युवाको आत्महत्या प्रकरण निकै मार्मिक छ। सबैले बेलैमा गम्भीरतापूर्वक लिउँ र उपचार खोजौं। अन्यथा युवाहरू विदेश पलायन हुने वा देशभित्रै आत्महत्या गर्ने प्रवृत्ति बढ्दै गएमा देश ठूलो संकटमा फस्नेछ’, उनले भने, ‘आरोपप्रत्यारोप होइन आत्मसमीक्षा गरौं र सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गरौं!’
यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रेम आचार्यको आत्मदाह मोहम्मद बौउजीजीको आत्मदाहले ल्याएको अरब क्रान्ति जस्तै भ्रष्टाचार, नेतातन्त्र र कर्मचारीतन्त्रको विरुद्धमा नेपालमा क्रान्ति ल्याउने हो कि भन्ने आशंका गरेका छन्।
‘प्रेम आचार्यजीको आत्मदाह मोहम्मद बौउजीजीको आत्मदाहले ल्याएको अरब क्रान्ति जस्तै भ्रष्टाचार, नेतातन्त्र र कर्मचारीतन्त्रको विरुद्धमा नेपालमा क्रान्ति ल्याउने हो कि, भन्न सकिन्न तर गरेर खान चाहने सोझासाझाहरूका लागि यो देश बाँच्नै नसक्ने सीमासम्म पुगेकै हो। श्रद्धाञ्जली,’
यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले आत्मदाह गलत भए पनि आत्मदाहको अवस्थासम्म पुग्नुपर्ने अवस्थाको खोजी हुनुपर्ने बताए।
‘आत्मदाह गलत हो, तर आत्मदाहको अवस्थासम्म पुग्नुपर्ने अवस्थाको खोजी हुनुपर्छ। प्रेम आचार्यले उठाएका कतिपय विषयलाई सरकार, दल र समाजले यथोचित ध्यान दिनुपर्छ, सम्बोधन गर्नुपर्छ’, उनले भनेका छन्,‘शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना।’
यस्तै गायक राजेशपायल राईले प्रेम आचार्यले किन मृत्यु रोजे भन्दै लाखौ प्रेमहरूको सपना नतुहाउन सरकारलाई आग्रहसमेत गरेका छन्।
‘देशमा लाखौं प्रेम आचार्यहरू छन् तर दुर्भाग्य एक प्रेमले आत्मदाह गरे यो नराम्रो भयो उहाँको आत्माले शान्ति पाओस् घर, आफन्तजनलाई सहनसक्ने शक्ति देउ सुम्निमा पारूहाङ!!’, उनले भने, ‘अब रह्यो उनीले किन मृत्यु रोजे यी लाखौं प्रेमहरूको सपना नतुहाउ सरकार!! बाँकी उनलाई न्याय मिलोस्।’
यस्तै सत्तारूढ दल राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले प्रेमले आत्मदाह गर्नु अगाडि लेखेको स्ट्याटसले राज्य नाङ्गो भएको बताएका छन्।
उनले यो गरिखान्छु भन्ने तमाम नेपालीको पीडा भएको बताएका छन्।
‘प्रेम प्रसाद आचार्यले आत्मादाह गर्नुभन्दा अगाडि लेखेको स्ट्याटसले यो राज्य ब्यवस्था नाङ्गो भएको छ। यो गरिखान्छु भन्ने तमाम नेपालीहरूको पीडा हो यो विषयलाई संसदीय समिति गठनगरि सूक्ष्म ढङ्गले अध्ययन र अनुसन्धान गरियोस्’, उनले भने।
सरकार मा बस्ने संसद मा बस्नेले राज्यलाई जिम्मेवार अबपनि नबनाउने हो भने जुनसुकै पार्टी को सरकार बनेपनि जनताको सरकार कहिले बन्ने छैन ।
संसदमा सुनाइयोस् वहाँ ले लेखेका कुराहरू ,
बुझ्नेले धेरै काम गर्नेछन् जनतकोलागी ,
नबुझ्नेले जे गरिरहेकाछन् त्यै गर्नेछन् ,’