
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर आसिफ शेखले आईसीसीको स्पिरिट अफ क्रिकेट अवार्ड जितेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले प्रदान गर्ने प्रतिष्ठित अवार्ड स्पिरिट अफ क्रिकेट (उच्च खेल भावना) अवार्ड २०२२ हात पारेका हुन् ।
२०२२ मा आईसिसिले प्रदान गरेको उक्त अवार्ड जित्ने आसिफ पहिलो नेपाली खेलाडी हुन् ।
गत वर्ष उनी मनोनयनमा परेका थिए । जुन गत फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी २० अन्तर्राष्ट्रिय सिरिजका क्रममा आयरल्यान्डविरुद्धको खेल थियो ।
आयरल्यान्डका म्याकबर्नी रन लिदाँ नेपाली बलर कमल सिंह ऐरीसँग अल्झिएर लड्न पुगेका थिए तर आसिफले उनलाई रन आउट गरेका थिएनन् ।
आसिफको त्यो खेल भावना नेपालमात्र नभएर अन्तर्राष्ट्रिय विश्व चर्चित मिडिया र समर्थकले खुलेर प्रशंसा गरेका थिए ।
आईसीसी आफैंले पनि उनको उक्त भावनाको खुलेर प्रशंसा गरेको थियो । विश्वभर सर्वाधिक चर्चा पाएको २०२२ को उक्त क्षणका कारण आसिफले आईसीसी स्प्रिट अफ द क्रिकेट इयर अवार्ड जितेका हुन् ।