टर्की र सिरिया भूकम्पमा मृत्यु हुनेकाे संख्या ३३ हजारभन्दा बढी

काठमाडाैं । टर्की र सिरियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

सन् १९३९ पछिकै शक्तिशाली मानिएको भूकम्पका कारण आइतबार साँझसम्म टर्की र सिरियामा गरी ३३ हजार बढीले ज्यान गुमाएका हुन् । अझै कयौं बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

टर्कीको ८१ प्रान्तमध्ये १० प्रान्तमा भूकम्पबाट अत्यधिक क्षति पुगेको छ । टर्कीको प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या टर्कीमा २९ हजार ६ सय ५ र सिरियामा ३ हजार ५ सय ७४ पुगेको छ । १ लाख भन्दा बढी मानिस घाइते भएर विभिन्न अस्पातलमा उपचार गराइरहेका छन् ।

दर्जनौं घाइतेको उद्धार कार्य जारी छ । एक सातासम्म पनि मानिसहरू भग्नावशेषमा पुरिएपछि मृतकको संख्या अझै बढ्न सक्ने समाचार संस्था एपीले जनाएको छ ।

यतिबेला टर्कीकै सुन्दर शहर अन्टाक्या भग्नावशेषको थुप्रो बनेको छ । भूकम्प पीडित घरबारविहीन भएका मानिसहरू खुला आकाशमुनि बसेर आगोको सहारामा घरबाट बाहिर निस्केको भग्नावशेषका फोहोर हेरिरहेका छन् ।

यसैबीच सरकारले राहत उद्धार कार्य तीव्र गतिमा भइरहेको जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१