
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टेस्ट बरियतामा गल्ति भएको स्वीकार गर्दै क्षमायाचना गरेको छ ।
बुधबार आईसीसीले भारतलाई टेस्ट क्रिकेटको शीर्ष स्थानमा राखेको थियो । तर त्यसको केही घण्टापछि अस्ट्रेलियालाई शीर्ष स्थानमा राख्दै भारतलाई दोस्रो स्थानमा झार्यो । आईसीसीको साइटमा समस्या आएको कारण भारत शीर्ष स्थानमा रहन पुगेपछि आईसीसीले क्षमा मागेको हो ।
आईसीसीले भूल सुधार गर्दै भनेको छ, ‘कुनै पनि असुविधाको लागि हामी हामी क्षमाप्रार्थी छौँ ।’ आईसीसीले प्राविधिक समस्याको कारण यस्तो गल्ति हुन पुगेको उल्लेख गरेको छ ।
नयाँ आएको टेस्ट बरियताअनुसार अस्ट्रेलिया १२६ रेटिङको साथमा शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको भारतले ११५ रेटिङ पाएको छ । १०७ रेटिङको साथम इंग्ल्यान्ड तेस्रो र १०२ रेटिङ पाएको दक्षिण अफ्रिका चौथो स्थानमा छ ।
टेस्ट बरियताको पाँचौँ स्थानमा न्युजिल्यान्ड रहँदा छैटौँमा पाकिस्तान, साँतौँमा श्रीलंका, आठौँ स्थानमा वेष्ट इन्डिज, नवौँमा बंगलादेश र १०औँ स्थानमा जिम्बाब्वे रहेका छन् ।