
टर्कीमा केन्द्रबिन्दु बनाएर गएको ७.८ म्याग्नेच्युडको भूकम्पका बेला जन्मिएकी नवजात शिशुले सहारा पाएकी छन् । समाचार संस्था रोयटर्सका अनुसार शनिबार उनका अंकल र आन्टीले उनको जिम्मा लिएका हुन् ।
सिरियाको एलोप्पो प्रान्तस्थित जिन्देरिसमा उद्धारकर्ताहरूले भूकम्पको अर्को दिन ती नवजात शिशुलाई फेला पारेका थिए । ती नवजात शिशुको परिवार बस्ने पाँच तले घर भूकम्पले ढलेको थियो ।
उद्धारकर्ताहरूले शिशुलाई जन्म दिएलगत्तै उनकी आमाको पनि भूकम्पमा परी मृत्यु भएको बताएका छन् । ती शिशुकी आमासहित बुवा र चार जना दाइ-दिदीहरू पनि भूकम्पमा बितेका छन् ।
उद्धारकर्ताले उनलाई सालनाल नकाटिएको अवस्थामा फेला पारेका थिए । उनलाई आफन्तहरूले तत्काल अफ्रिन सहरमा रहेको अस्पतालमा पुर्याएका थिए ।
उनलाई एडप्ट गर्न संसारभरिका सयौँ मानिसले अस्पतालमा प्रस्ताव पठाएका थिए ।
उपचारपछि उनी पूर्ण रूपमा स्वस्थ भएकी छन् ।
ती नवजात शिशुका बुवा आमाको नाम अब्दाल्लाह र आफ्रा म्लेइहान थियो । जन्मिनासाथ भूकम्पमा परेकी ती सानी मान्छेको नाम पनि आफ्रा राखिएको छ । उनकी आमाको सम्झनामा उनको नाम आफ्रा राखिएको उनका अंकल खालिल अल सावादीले बताए ।
सुखद संयोग कस्तो परेको छ भने सावादीको घरमा अहिले अर्की पनि बच्चा छन् । भूकम्पको तीन दिनपछि जन्मिएकी उनकी छोरीको नाम आता राखिएको छ । शनिबार सावादीले एउटा काखमा आता र अर्को काखमा आफ्रालाई राखेकाे फाेटाे पाेस्ट गरेका थिए ।