ब्राजिलमा भीषण बाढी : ३६ जनाको मृत्यु

ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी पहिरामा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ।

बाढी पहिराबाट भएको क्षति सम्बन्धमा साओ सोस्टियाओ शहरबाट सम्प्रेषण गरिएका टेलिभिजन र सामाजिक सञ्जालका दृश्यमा घर र जमिन बगाएको, मोटरकार खोलामा खसेका, भत्केका राजमार्ग र ढलेका रुख देखिन्छन्। उक्त शहरमा ३५ जनाले ज्यान गुमाएका राज्य सरकारले बताएको छ। उबातुबा शहरमा पनि एक बालिकाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन्।

साओ पाउलो शहरको उत्तरी तटीय क्षेत्रमा दुई सय २८ जना घरबारविहीन भएका तथा तीन सय २८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। अधिकारीहरूले बाढीपहिरामा हराएका तथा घाइते भएकाहरूका बारेमा जानकारी दिएका छैनन्।

साओ पाउलो राज्यका गभर्नर टार्सिसियो डे फ्रेटासले बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि तटवर्ती पाँच शहरमा आपत्काल घोषणा गरेका छन्। साथै उनले उद्धार तथा राहतका निम्ति १५ लाख अमेरिकी डलर निकासा गरेका छन्। राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले बाढी प्रभावित क्षेत्रको आज भ्रमण गर्नुहुने भएको छ।

जलवायु परिवर्तनका कारण उत्पन्न विषम परिस्थितिका कारण ब्राजिलमा अकल्पनीय प्रभाव परिरहेको छ। गत वर्षको मुसलधारे वर्षाका कारण पेट्रोपोलिस शहरमा दुई सय ३० जनाभन्दा बढीको मृत्यु भएको थियो।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१