सांसद भण्डारीको स्वास्थ्यमा झन् सुधार

काठमाडौँ । कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छ । ग्यास सिलिन्डर चुहिएर आगोलागिमा जलेर घाइते भएका भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको हो ।

भारतको मुम्बईमा उपचाररत भण्डारीको मुखको सुन्निएको भाग सबै घटेको कांग्रेस नेता योगराज कँडेलले जानकारी दिए । ‘हाल कृत्रिम अक्सिजन पुनः ३५ प्रतिशतमा राखिएको छ, आज फेरी ट्रायल गर्ने रे । स्वास्थ्य अवस्था नर्मल हुँदै गएको छ,’ उनले भनेका छन्, ‘मुखको सुन्निएको सबै भाग घटेको छ ।’

शुक्रबारदेखि नलीमार्फत् खाना खुवाउन सुरु गरिएको छ भने आइतबार दिउँसो छातीको फिजियो गराइएको थियो ।

सांसद भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो । नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१