स्कटल्यान्डलाई हराएपछि नेपाली क्रिकेट टोली र दर्शकको लोभलाग्दो ‘सेलिब्रेसन’ (भिडिओ)

काठमाडौँ । कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई स्तब्ध तुल्याएको छ । नेपालले खेल २ विकेटले जितेपछि लिग २ कै उपाधि जितिसकेको स्कटल्यान्डको सेलिब्रेसन खल्लो बन्यो भने नेपालको सेलिब्रेसन लोभलाग्दो । दर्शकदेखि क्रिकेट खेलाडीसम्मले उत्साह मनाए ।

स्कटल्यान्डले ३६ खेलबाट ५० अंक जोड्दै लिग-२ को उपाधि चुमेको हो । स्कटल्यान्डले सर्वाधिक २४ खेलमा जित हात पार्‍यो । यता नेपालले भने शीर्ष ३ मा पुग्ने सम्भावना भने कायमै राखेको छ । नेपालले २८ खेलमा २६ अंक जोडेको छ । नेपालले अब ८ खेल खेल्न बाँकी छ । यस सिरिजमा नेपालले चारवटै खेलमा जित हात पारेको छ ।

मंगलबारको खेलमा २ सय १३ रनको लक्ष्य नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि कप्तान रोहित पौडेलले अविजित ९५ रन तथा करण केसीले ३१ रन बनाए । रोहित र करणले नवौं विकेटका लागि ७५ रनको साझेदारी गरे ।

ज्ञानेन्द्र मल्लले २१, कुशल मल्ल १७, आशिफ शेखले १२, सन्दीप लामिछाने ९, सोमपाल कामी २, कुशल भुर्तेल १ रनमा आउट भए । स्कटल्यान्डका मार्क वाट्टले ३ र क्रिस ग्रिभ्सले २ तथा साफयान सरिफ, ब्रान्डन म्याकमुलन र माइकल लिस्क १-१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४६ ओभर १ बलमा सबै विकेट गुमाएर २ सय १२ रन जोड्यो ।

स्कटल्यान्डका लागि जर्ज मुन्सीले ६० रन तथा म्याथ्यू क्रसले ४२ रनको योगदान गरे । ब्रान्डन म्याकमुलनले ३१ रन तथा कायल कोएट्जर र क्रिस्टोफर माइकब्राइडले समान २२-२२ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले ४, करण केसीले ३ तथा कुशल मल्ल ललित राजवंशीले एक-एक विकेट लिए ।

भिडिओ हेर्नुहोस् 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१