
काठमाडाैं । अमेरिकाको ऊर्जा मन्त्रालयले यसअघिको निष्कर्षलाई उल्ट्याउँदै कोभिड–१९ भाइरस चीनको रिसर्च ल्याबबाट फैलिएको हुने प्रबल सम्भावना रहेको बताएको छ ।
डिरेक्टर अफ नेसनल इन्टेलिजेन्सले सन् २०२१ मा तयार पारेको दस्तावेजलाई नयाँ अनुसन्धानको आधारमा अद्यावधिक गर्दै यो निष्कर्ष निकालिएको द वाल स्ट्रीट जर्नलले खबर दिएको छ ।
अद्यावधिक गरिएको दस्तावेज हालैका दिनमा अमेरिकी सांसदहरूसमक्ष पेश गरिएको थियो ।
यसअघि एफबीआईले पनि कोभिड भाइरस वुहानको प्रयोगशालाबाट फैलिएको हुन सक्ने बताएको थियो ।
तर अमेरिकाका अन्य एजेन्सीहरू अझैसम्म पनि भाइरस प्रयोगशाला नजिक रहेको एक मासु बजारमा पशुमार्फत फैलिएको भन्ने दाबीलाई अंगीकार गरिरहेका छन् । सीआईएले यस विषयमा अन्तिम निष्कर्ष सार्वजनिक गर्न बाँकी छ ।
ऊर्जा मन्त्रालयले आफ्नो निष्कर्ष बदल्नु महत्त्वपूर्ण छ किनकि उक्त निकायले विदेशमा रहेका अमेरिकी प्रयोगशालाहरूको सुपरिवेक्षण गर्ने गरेको छ । तीमध्ये कतिपय प्रयोगशालाले जैविक अनुसन्धान गर्ने गरेका छन् ।
तर ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानले यस विषयमा कुनै ठोस उत्तर अझैसम्म पनि नपाइएको बताएका छन् ।
चीन र अमेरिकाबीचको सम्बन्ध बिग्रँदै गएको बेलामा अमेरिकाको ऊर्जा मन्त्रालयको निष्कर्षले आगोमा घ्यू थप्ने काम गर्ने विश्लेषकहरू बताउँछन् ।