जथाभावी टाँगिएका तार काटदै ललितपुर महानगर

काठमाडौं । ललितपुर महानगरले जथाभावी टाँगिएका तारले सहरको सुन्दरतामा आँच पुर्‍याएको भन्दै हटाउन सुरू गरेको छ। यसअघि नै सम्बन्धि सरोकारवालालाई सम्पदा क्षेत्रको तार काट्न ७ दिनको अल्टिमेट दिएर सार्वजनिक सूचना प्रकाशन गरेको स्मरण गर्दै ललितपुर महानगरपालिकाले पहिलो चरणमा सम्पदा क्षेत्रका असरल्ल रहेका तारहरू हटाउन सुरू गरेको हो।

यसैबीच ललितपुर महानगरले सम्बन्धित सरोकारवाल राखेर तार व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रम आयोजना गरेको छ।

महानगरको चार वटा अशोक स्तुपा क्षेत्र वरपर टाँगिएका तार, कुम्भेश्वर मन्दिर परिसरमा टाँगिएका तार, पाटन दरबार क्षेत्र वरपरका तार र श्री रातो मछिन्द्रनाथको रथ निर्माण गरिने ठाउँ पुल्चोकस्थित रथखेलमा टाँगिएका तार काट्नुपर्ने नगरप्रमुख चिरीबाबु महर्जनले जानकारी दिए।

नगर प्रमुख महर्जनले पहिलो चरण अन्तर्गत महानगरको सम्पदा क्षेत्रका तार १० दिनभित्र हटाइसक्ने बताए।

तार हटाउन इन्टरनेट सर्भिस प्रोभाइडर एसोसियसन आइएसपिए लाई ललितपुर महानगरले जिम्मा दिएको छ। तार व्यवस्थापन गर्न आइएसपिएलाई ललितपुर महानगरले नगरप्रहरी सहित अन्य आवश्यक सहयोग गर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए। उनले भने, ‘महानगरले अन्य सरोकारवालासँग पनि समन्वय गर्छ , सम्पदाको सहर ललितपुरको शाख जोगाउन सहयोग गर्नुस्, सहर नै फोहोरी देखियो ।

नगर प्रमुख चिरीबाबु महर्जनले गुजुल्टिएको तारमा आगो लागेको घटना धेरै सुनेको बताउँदै नगर र नगरबासीको सुरक्षाका लागि यी तार तत्काल हटाउनुपर्ने उनको भनाई थियो।

यी तारका कारण सहर कुरुप भएको दाबी गर्दै भने, ‘नगर र नगरवासीको सुरक्षा पहिलो हो, यी तारले ललितपुरलाई स्मार्ट सिटी बनाउने हाम्रो अभियानलाई बाधा पुर्‍याएको छ।’

नगर प्रमुख महर्जनले १० दिन भित्र तार नकाटे महानगरले सबै असरल्ल तारहरू काट्ने बताए । तार काट्दा आवश्यक तार पनि काटिन सक्ने तर्फ इंगित गर्दै उनले भने, ‘ मेसिन खरिद गरिसक्यौं, आफै काट्छौ,त्यो बेलाको ह्युमन क्राईलाई हामी व्यवस्थापन गर्छौ।’

सडकमा गाडिएको खम्बा, घरको भित्तामा असरल्ल टाँगिएको तारको गुजुल्टोका कारण आफूलाई लज्जाबोध भएको नगर प्रमुख महर्जनले बताए।

ललितपुर घुम्न आएका पर्यटक र कामका सिलसिलामा आफूलाई भेट्न आएका विदेशी पाहुनाले ती असरल्ल तारका गुजुल्टाबारे टिप्पणी गरेको स्मरण गर्दै उनले भने, ‘ललितपुरका मनमोहन, सम्पदाका तस्वीर खिज्न खोज्छौं, तर यी तार राम्रो तस्वीरका लागि बाधक भइदिन्छन्,’ महानगरले चरणबद्ध रुपमा यी तारहरुको व्यवस्थापन गर्ने बताएको छ।

 

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१