‘यौन दुर्व्यवहार’गर्ने प्रधानाध्यापकलाई छुटाउन पेसागत संगठनको दबाब

काठमाडौं । छात्राहरूलाई यौन दुर्व्यवहार गर्दै आएको आरोप लागेका प्रधानाध्यापकलाई छुटाउन पेसागत संगठनले दबाब सिर्जना गरेका छन् । मोलुङ गाउँपालिका–२ गणेश मावि ढुस्केका प्रधानाध्यापक योगेन्द्रप्रसाद धमलाविरुद्ध बालयौन दुरुपयोगको आरोपमा जाहेरी परेपछि प्रहरीले साताअघि पक्राउ गरेको थियो । नेपाली कांग्रेससम्बद्ध शिक्षक संघ र विद्यालय व्यवस्थापन समितिलगायतले अनुसन्धानमा प्रभाव पार्ने उद्देश्यले दबाब सिर्जना गरेका हुन् ।

उनीहरूले विज्ञप्ति प्रकाशन गरी झूटो आरोप लगाएको र फसाउने उद्देश्य राखेको उल्लेख गरेका छन् । विज्ञप्तिमै कक्षा ९ का नजान्ने विद्यार्थीलाई हात समाएर लेख्न सिकाएको र सामान्य दण्ड दिएको उल्लेख छ । जुन बालबालिकासम्बन्धी ऐनविरुद्ध रहेको अधिकारकर्मी बताउँछन् । बालबालिकासम्बन्धी ऐनको दफा ६६ को ९घ० मा घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने र अमर्यादित व्यवहार गर्न नहुने भनिएको छ । तर सोही ऐनविपरीत प्रधानाध्यापकले दिएको दण्ड सामान्य भएको भन्दै पेसागत संगठन नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति, नेपाल शिक्षक संघ मोलुङ गाउँपालिका र गणेश मावि ढुस्केलगायतले विज्ञप्ति निकालेका हुन् ।

प्रधानाध्यापक धमलाले कक्षा ९ र १० का छात्रालाई गोप्य अंगमा छुने जस्ता दुर्व्यवहार गर्ने गरेको आरोप छ । उनीहरूले सामूहिक रूपमै विद्यालयमा कुरा राख्दा ढाकछोप भएपछि प्रहरीमा पुगेको बताएका छन् । यसअघि सोही विद्यालयबाट माध्यमिक तह पास गरी गइसकेका छात्राहरूले समेत यो घटना पहिलेदेखि हुँदै आएको भनेर सामाजिक सञ्जालमा लेखेका छन् ।

घटनाको बारेमा भने जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक केसीले उजुरी दर्ता भएर अनुसन्धान भइरहेको बताए । ‘यो घटना अनुसन्धान गर्न अझै केही दिन लाग्छ,’ उनले भने । आरोपित प्रधानाध्यापकमाथि बुधबार दोस्रो पटक म्याद थप गरी अनुसन्धान अघि बढाएको उनले बताए ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१