
काठमाडाैं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ मा पर्ने फल्याक गाउँ निषेधित र खम्पा विद्रोहीहरुको क्षेत्र नभएको गाउँपािलकाले जनाएकाे छ ।
फागुन १८ गते बिहिबार मुलधारको एक पत्रिकाले ‘मुस्ताङको निषेधित क्षेत्रमा बौद्ध कलेज खोल्न भारत अग्रसर’ शिर्षकमा समाचार प्रकाशित गरेपछि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले उक्त समाचार प्रति खण्डन गरी समाचार यतार्थ भन्दा फरक रहेको उल्लेख गरेको हाे ।
समाचारमा ‘तिब्बती खम्पाहरुले चार दशक अघि चीन सरकार विरुद्ध विद्रोह गरेका कारण मुस्ताङको फल्याक गाउँ सम्वेदनशील क्षेत्र मानिन्छ’ भनी उल्लेख गरिएको थियो । त्यसप्रति शुक्रबार वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आफ्नाे ध्यानाकर्षण भएकाे जनाएकाे हाे ।
आफ्नो आधिकारिक लेटर प्याडमा गापा अध्यक्ष रिङझिङ नाम्गेल गुरुङद्धारा हस्ताक्षरित खण्डन पत्र उक्त पत्रिकाको कार्यालय र जिल्ला स्थित सुरक्षा निकायहरुलाई बोधार्थ जनाएर समाचार प्रति पालिकाको गम्भिर ध्यानआर्कषण भएको उल्लेख गरेको छ ।
ध्यानाकर्षणमा गाउँपालिका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङले फल्याक गाउँ चार दशक अघि तिब्बती खम्पाहरुले चीनविरुद्ध विद्रोह गरेको क्षेत्र नभएको स्पष्ट पारेका छन् ।
उक्त पत्रिकामा छापिएकाे समाचारमा उल्लेख गरिएको जस्तो नेपाल सरकारले २०२८ सालमा मुस्ताङको विभिन्न ठाउँहरु घोषणा गरेकोमा वारागुङ मुक्तिक्षेत्रको साङ्ता गाउँ निषेधित तथा नियमन्त्रित क्षेत्रमा पर्ने भए पनि फल्याक गाउँ निषेधित तथा नियन्त्रित क्षेत्रमा नपर्ने उनले बताएका छन् ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले प्रकाशित समाचार यतार्थ भन्दा पृथक रहेको जानकारीसहित उक्त पत्रिकालाई पुन: सम्पादन गरी समाचार प्रकाशित गरिदिन पनि गाउँपालिकाले अनुराेध गरेकाे छ ।