महंगी नियन्त्रण गर्न कसैको ध्यान गएन, प्रचण्ड सरकारको ध्यान पुगोस् (भिडिओसहित)

काठमाडाैं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डीला संग्रौलाले मुलुकमा राजनीतिक मुद्दाले मात्र प्राथमिकता पाएकाले जनताका मुद्दा ओझेलमा परेको गुनासो गरेकी छिन् ।

हुलाक सञ्चारसँग कुरा गर्दै नेतृ संग्रौलाले मुलुकको आर्थिक अवस्था दयनीय अवस्थामा पुगेको, दैनिक उपभोग्य सामग्रीमा भएको अचाक्ली मूल्यबृद्धिले जनतालाई हातमुख जोर्न समस्या भएको, बैंकको ऋण तीन नसकेको दैनिक आत्महत्याका घटना बढ्न थाल्दा पनि यसतर्फ कसैको ध्यान नगएको गुनासो गरिन् ।

संग्रौला भन्छिन्, ‘हेर्नुहोस् त अहिले देशभर आन्दोलन छ । रासायनिक मलमा दिँदै आएको अनुदान काटियो । यो बिल्कुल गलत कदम हो । कृषि प्रधान देश भन्ने किसान मार्ने काम गर्ने ? दूधको मूल्य त्यसरी बढाएको छ । दाल, चामल, साग, तरकारी त्यस्तै छ । शिक्षा स्वास्थ्यमा सर्वसाधारणको पहुँच हुन छाडिसक्यो । देश त बरवाद पो हुन थालिसक्यो त । यो अवस्था हुँदा पनि हामी राजनीतिक भागवण्डा र पदको लडाईंमा छौँ । यो त भएन ।’

नेतृ संग्रौलाका अनुसार सबैभन्दा पहिले सुशासनमा ध्यानु दिनुपर्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् बिस्तार गरेपछि मात्रै ध्यान दिन्छु भन्ने सोच्नु भएन । सरकारी संयन्त्र छ, कर्मचारी छन, बेथिति नियन्त्रण गर्न तुरुन्त एक्सनमा जानुपर्छ ।

अहिले बैंक तथा वित्तिय संस्थाको ब्याज नतिर्ने, कालोमोसो लगाउने अभियान चलेको छ । यो जनआक्रोश हो । सरकारी उदासिनताको नतिजा हो । छिटो भन्दा छिटो मुलुकको आथिक समस्या समाधान नगरे यसले राजनीतिक व्यवस्थामाथि नै खतरा उत्पन्न गराउने छ ।

नेपाली कांग्रेस सरकारमा गएपछि केही हदसम्म बेथिति अन्त्य हुने संग्रौलाको विश्वास छ । कांग्रेसले मात्र होइन सरकारमा सहभागि हुने सबै दलले योग्यता, क्षमता र विज्ञता हेरेर मन्त्री पठाउनुपर्छ । नेताहरुको पालो पुर्याउने वा नेताहरुले आफनो खल्तिका मान्छेलाई मात्रै पालो दिने गर्न थालियो भने मुलुकका समस्या समाधान हुँदैनन् । केही गर्न सक्ने आँट र लगन भएको मान्छेलाई अवसर दिनुपर्छ ।

कांग्रेससहित सबै राजनीतिक दलहरुले महिलाको भूमिकालाई नजरअन्दाज गरिरहेको उनको गुनासो छ । राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा पुरुष चयन गर्नु महिलालाई चरम उपेक्षा गरेकोरुपमा आफूले बुझेको उनी बताउँछिन् ।

विस्तृत भिडिओमा :

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१