ललितपुर महानगरपालिकाले चिडियाखानामा रहेको बाघलाई खाना तथा अरू व्यवस्थापन गर्ने

काठमाडौं । ललितपुर महानगरपालिकाले सदर चिडियाखानामा रहेको बाघलाई आवश्यक पर्ने खाना तथा अरू व्यवस्थापनका लागि आवश्यक खर्च बेहोर्ने भएको छ ।

चिडियाखानाका अनुसार एउटा वयस्क बाघको दैनिक खान्की ६ किलो मासु हो । मासुसहित अन्य भिटामिन पनि बाघका लागि आवश्यक पर्छ । त्यसका लागि मासिक एक लाख रुपैयाँ खर्च हुने चिडियाखानाका कर्मचारीहरु बताउँछन् ।

ललितपुर महानगर र सदर चिडियाखानाबीच पाटेबाघको आहार व्यवस्थापन सम्बन्धमा आइतबार समझदारी पत्रमा हस्ताक्षर भएको महानगरपालिकाले जनाएको छ । समझदारी पत्रमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र सदर चिडियाखानाका कार्यालय प्रमुख रचना शाहले हस्ताक्षर गरेका हुन् ।

पाटेबाघको आहार व्यवस्थापनका लागि महानगर प्रमुख चिरीबाबुले १५ लाखको चेक हस्तान्तरण गरेका थिए । महानगरले चिडियाखानामा रहेको रोयल बङ्गाल टाइगर ‘महाराजा’ नामको पाटे बाघको आहारा व्यवस्थापनका लागि उपलब्ध गराएको हो ।

महाराजा बाघको एक वर्षको आहाराको लागि उक्त रकम उपलब्ध गराएको महानगर प्रमुख चिरीबाबु महर्जनले बताए । ‘देशको एक मात्रै चिडियाखाना हाम्रो महानगरमा हुनु खुशीको कुरा हो, जनावर संरक्षणका लागि सहयोग गर्न पाउँदा खुशी लागेको छ,’ नगरप्रमुख महर्जनले भने ।

कोभिडको समयमा चिडियाखानाले भोग्नु परेको चरम आर्थिक अभावलाई सम्बोधन गरेको पनि उनले बताए । त्यतिबेला महानगरले जनावर भोकै नपरुन् भनेर १० लाख सहयोग गरेको थियो ।

वन्यजन्तुको आहारविहार, उपचारखर्चमा सरसफाइलगायत निश्चित मापदण्ड पूरा गरी चिडियाखानाले निर्धारण गरेको खर्च बेहोरेमा इच्छुकले आफूले चाहेको वन्यजन्तुको एक वर्ष, महिना तथा एक दिन आफूले चाहेको समयावधिसम्मका लागि अभिभावकत्व लिन सक्नेछन् ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१