काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी प्रकरणमा युवराज सफल सर्वोच्च अदालत जाने भएका छन् ।
राहदानी दुरुपयोग मुद्दामा महान्याधिवक्ताको कार्यालयले लामिछानेलाई उन्मुक्ति दिएकाले उनले सर्वोच्च अदालतमा रिट दर्ता गर्ने बताएका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गरी उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने सन्दर्भमा लामिछानेलाई उन्मुक्ति दिएको आरोप पनि लगाए ।
लामिछानेलाई जोगाउन सरकार नै लागिपरेको भन्दै उनले आपत्ति जनाएका छन् ।
जिल्ला प्रहरी परिसर, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं,उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायधिवक्ताको कार्यालयका पदाधिकारी एवं कर्मचारीहरू नै लामिछानेको पक्षमा लागेका उनको ठहर छ ।
उक्त मुद्दामा जोडिएका पदाधिकारी र कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सोमबार नै उनले उजुरी दिएका छन् ।