
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वमन्त्री रवि लामिछानेविरुद्ध राहदानी मुद्दामा सरकारले उन्मुक्ति दिएपछि उजुरीकर्ता युवराज सफलले अख्तियार अनुसन्धान आयाेगमा उजुरी दर्ता गराएका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडाैं र जिल्ला सरकारी वकिलकाे कार्यालयले लामिछानेसँगकाे मिलेमताेमा राहदानी मुद्दामा उन्मुक्ति दिएकाले आवश्यक अनुसन्धान गरी कारबाही गरी पाउँ भनी सफलले अख्तियारमा उजुरी दिएका हुन् ।
अमेरिकी नागरिकता र राहदानी बहाल रहेकै बेला नेपाली राहदानी लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको थियाे ।
अमेरिकी नागरिकता लिएपछि स्वतः कायम नरहेको नेपाली नागरिकता प्रयोग गरेर उम्मेदवार बनेको भन्दै सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरिदिएको थियो ।
तर, सरकारी वकिलको कार्यालय काठमाडौंले ‘अमेरिकी नागरिकता र राहदानी नत्यागी नेपाली राहदानी लिएको देखिए पनि लामिछानेबाट त्यसको दुरुपयोग नभएको’ ठहर गरेको थियाे ।
राहदानी दुरुपयोगको कसुरमा लामिछानेलाई मुद्दा चलाउनु नपर्ने रायसहित जिल्ला प्रहरी परिसर काठमाडौंले प्रतिवेदन बुझाएको थियो । त्यसैका आधारमा वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियाे ।
उजुरीकर्ता सफलले भने लामिछानेसँगकाे मिलेमताेमा जिल्ला प्रहरी परिसर, काठमाडाैं, जिल्ला सरकारी वकिल कार्यालय, काठमाडाैंका प्रमुख अच्युतमणी न्याैपाने, उच्च सरकारी वकिल कार्यालय, पाटनका प्रमुख कृष्णमाेहन काेइराला र महान्याधिवक्ता कार्यालयका प्रमुख दिनमणी पाेखरेलले आफ्नाे पदीय मर्यादा भुलेर उक्त निर्णय गरेकाे आराेप लगाएका छन् ।
सफलले अख्तियार आयुक्तसमक्ष गरेकाे उजुरीमा उनीहरुबाट सक्कल फाइल झिकाइ यसमा दाेषी सबैलाई कारबाही गर्न माग गरेका छन् ।
राहदानी ऐन २०७६ को दफा २१ मा कसैले झूटा विवरण दिई राहदानी लिएमा वा लिन प्रयत्न गरेमा राहदानीविरुद्धको कसुर मानिने उल्लेख छ ।
उक्त दफाको बुँदा ‘क’ मा ‘कसैले झूटा विवरण दिई राहदानी वा यात्रा अनुमति लिएमा वा लिन प्रयत्न गरेमा यस ऐनबमोजिम कसुर गरेको मानिने’ उल्लेख छ । यो कसुरमा संलग्नलाई दफा २२ को उपदफा १ बमोजिम ‘२ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा १ वर्षदेखि ३ वर्षसम्म कैद वा दुवै सजाय हुने’ उल्लेख छ ।
२०७० फागुनमा अमेरिकी नागरिकता र राहदानी लिइसकेपछि पनि लामिछानेले २०७२ जेठमा नेपाली राहदानी निकालेका थिए । तर, विवाद भएपछि २०७५ असारमा मात्र उनले अमेरिकी नागरिकता र राहदानी परित्याग गरेका थिए ।