‘धोकेबाज’ गीतमा विवाद गर्नुपर्ने आवश्यकता देखेको छैन : शिव परियार

काठमाडाैं । गायक शिव परियारले ‘धोकेबाज हौ तिमी’ बाेलकाे गीतलाई मेल, फिमेल र चाइल्ड भर्सनमा स्वर दिनेहरु गीतका आधिकारिक र वास्तविक गायक–गायिका रहेको बताएका छन् ।

सामाजिक सञ्जालबाट मंगलबार विज्ञप्ति जारी गरी उनले गीतमा विवाद गर्नुपर्ने कुनै आधार वा आवश्यकता नभएको उल्लेख गरेका छन् ।

उनी लेख्छन्, ‘चोरी, चाकरी वा कभर गरेर हामी कसैले पनि गीत गाएका होइनौं । यस गीतलाई मेल, फिमेल र चाइल्ड भर्सनमा आफ्नो स्वर दिएर गाउने गायक-गायिका नै यस गीतका आधिकारिक र ओरिजिनल गायक-गायिका हुन् । यस विषयमा विवाद गर्नुपर्ने कुनै आधार र आवश्यकता मैले देखेको छैन ।’

गीतलाई फिमेल भर्सनमा एलिना चौहान, मेल भर्सनमा शिव परियार र चाइल्ड भर्सनमा सुप्रिम मल्लले स्वर दिएका छन् । गीत केही समयदेखि सर्वाधिक चर्चामा छ । डेढ वर्षअघि फिमेल भर्सन सार्वजनिक भएको केही महिनापछि मेल भर्सनमा यो गीत सार्वजनिक भएको थियो ।

चाइल्ड भर्सन भने एक महिना अघिमात्रै सार्वजनिक भएको हो । उक्त गीतमा आफूले जस लिन खोजिरहेको भन्ने विवादमा गायक परियारले औपचारिक प्रष्टीकरण दिएका हुन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७