एक पुरुष र दुई पत्नीबीच यस्तो सहमति : तीन दिन एउटीसँग, तीन दिन अर्कीसँग, एक दिन आफ्नाे मर्जी !

भारतमा बहुविवाहसम्बन्धी एउटा अनौठो घटना भएको छ । भारतीय कानुनमा पनि बहुविवाह दण्डनीय छ । तर बहुविवाह गरेका एक पुरुष र दुई पत्नीबीच यस्तो सहमति भएको छ, जसका कारण उनीहरू दण्डबाट जोगिएका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार नोएडा निवासी २८ वर्षीय युवकले २ बिहे गरेको खुलेपछि विवाद अदालतसम्म पुग्यो । तर अदालती प्रक्रियाकाबीच फैसला नहुँदै उनीहरू तीनजनाबीच अदालतबाहिर अनौठो सम्झौता भयो ।

रिपोर्टअनुसार ती युवक हप्तामा ३ दिन एउटीसँग र ३ दिन अर्की श्रीमतीसँग बस्नुपर्ने र १ दिन स्वतन्त्र बिताउन पाउने सहमति भएको हो ।

ग्वालियर पारिवारिक अदालतले नियुक्त गरेका मध्यस्थकर्ताले उनीहरूबीच त्यस्तो सहमति गराएका हुन् । सहमतिअनुसार सफ्टवेयर इन्जिनियर ती युवकले आफ्नो डेढ लाख तलब २ वटी श्रीमतीलाई बराबर बाँडेर दिनुपर्नेछ र उनले श्रीमतीसँगको सहमतिमा मात्र त्यो पैसा खर्च गर्न पाउनेछन् । उनले आफ्ना दुईवटा फ्ल्याट दुई पत्नीलाई एक/एकवटा दिनुपर्नेछ।

सम्झौताअनुसार उनले सोमबारदेखि बुधबारसम्म एउटी पत्नीसँग र बिहीबारदेखि शनिबारसम्म अर्कीसँग बिताउनुपर्नेछ । आइतबार भने उनी स्वतन्त्र हुनेछन्, आफ्नो इच्छाअनुसार जहाँसुकै बस्न पाउनेछन् ।

सम्झौतामा भनिएको छ, ‘यो सम्झौता उल्लंघन गरेमा पहिलो पत्नी पतिविरुद्ध अदालत जान सक्नेछिन् ।’

जनवरी २०२३ मा ग्वालियर पारिवारिक अदालतले विवाद समाधान गर्न नियुक्त गरेका सल्लाहकार अधिवक्ता हरीश देवानका अनुसार उक्त व्यक्तिले मे २०१८ मा २६ वर्षीया युवतीसँग विवाह गरेका थिए । दुवै सफ्टवेयर इन्जिनियर रहेका उनीहरू गुडगाउँको एउटा कम्पनीमा काम गर्थे ।

सन् २०२० मा महिला गर्भवती भइन् र कोरोना महामारी पनि भएकोले ती पुरुषले पत्नीलाई ग्वालियरमा आफ्ना आमाबुवाको घरमा छाडे । देवानले भने, ‘कोरोनाका कारण आवतजावतमा प्रतिबन्ध लगाइएको थियो र पुरुषले महिलालाई आफ्नो परिवारसँग बस्न भने ।’

तर ती पुरुष जब गुडगाउँ काममा फर्किए कहिल्यै ग्वालियर फर्किएनन् र सन् २०२१ मा एउटै कम्पनीमा काम गर्ने अर्की युवतीसँग बिहे गरे । ती महिला पनि गर्भवती भइन् । देवानका अनुसार दोस्री पत्नीले जुलाई २०२१ मा छोरी जन्माइन् । उता पहिलो पत्नीले उनलाई जति घर बोलाउँदा पनि ती पुरुषले विभिन्न बहाना बनाएर टार्न थाले ।

जब पहिलो पत्नीको परिवार जनवरी २०२३ मा उनलाई भेट्न नोएडा गयो तब थाहा भयो– उनी त अर्कै श्रीमती बिहे गरेर बसेका रहेछन्, बच्चासमेत भइसकेको रहेछ ।

झगडा भएपछि पहिलो पत्नीको परिवारले नोएडाको स्थानीय पुलिस स्टेसनमा ती पुरुषविरुद्ध उजुरी दिए तर कुनै एफआईआर दर्ता भएन ।

त्यही महिना पहिलो पत्नीले ग्वालियरको पारिवारिक अदालतमा मानाचामलको मुद्दा हालिन् । अदालतले अधिवक्ता र काउन्सिलर हरिश देवानलाई मंगलबार मुद्दाको सुनुवाइअघि सहमतिका लागि प्रयास गर्न भनेको थियो ।

त्यसपछि देवानले ती व्यक्तिलाई भारतीय दण्ड संहिताको धारा ४९४ अन्तर्गत बहुविवाह अवैध हुने भनी चेतावनी दिए । काउन्सिलरका अनुसार अनि मात्र ती पुरुष दुवै पत्नीलाई सबैथोक बराबर बाँड्न तयार भए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१