सर्वसाधारणका लागि सगरमाथा जलविद्युतको आइपिओ खुल्यो

काठमाडौं । सर्वसाधारणका लागि सगरमाथा जलविद्युत कम्पनीको आइपिओ आज (बुधबार) देखि निष्कासन तथा बिक्री खुला भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो ।

सो मध्ये १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

यस्तै, ५ प्रतिशत अर्थात् २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरूका लागि र ३ प्रतिशत अर्थात् १ लाख ३१ हजार ४० कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरेका कम्पनीले जनाएको छ ।

सर्वसाधारणले बाँकी रहेको ३५ लाख ८१ हजार ७६० कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ ।

उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिन्छ ।

उक्त आइपिओमा छिटोमा चैत १२ गतेसम्म आवेदन दिन सकिन्छ भने उक्त अवधिसम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा बिक्री अवधि चैत २२ गतेसम्म लम्बिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिन्छ ।

कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपि आइआर त्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१