के हाे राहुल गान्धिविरुद्धकाे मुद्दा ? किन सुनाइयाे दुई वर्षकाे जेल सजाय ?

काठमाडाैं । भारतीय कांग्रेस आईका नेता राहुल गान्धीलाई गुजरातको सुरत अदालतले २ वर्ष जेल सजाय सुनाएको छ । चार वर्ष पुरानो मनाहानीसम्बन्धी मुद्दामा गान्धीलाई जेल सजाय सुनाइएको हो ।

सुरत अदालतको यो फैसलाले भारतीय राजनीतिमा तरंग पैदा गरेको छ । यो मुद्दा के थियो ? किन दायर भएको थियो मुद्दा ?

राहुल गान्धीले सन् २०१९ को लोकसभा चुनावमा कर्नाटकको कोलारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मोदीमाथि विभिन्न आरोप लगाएका थिए । उनले भनेका थिए, ‘किन सबै चोरहरूको उपनाम मोदी छ ?’

यसरी सार्वजनिक रूपमा प्रधानमन्त्री मोदीलाई समेत लक्षित गरी आरोप लगाएपछि उनीविरुद्ध भारतीय दण्डसंहिताको धारा ४९९ र ५०० अन्तर्गत मुद्दा दर्ता गरिएको थियो । भारतीय दण्डसंहिताको धारा ४९९ ले मानहानीको मुद्दामा अधिकतम दुई वर्षको सजायको व्यवस्था गरेको छ ।

राहुललाई दिइएको सजायको प्रतिक्रिया दिँदै कांग्रेस नेता दिग्विजय सिंहले भने, ‘अब मोदीको नाम लिँदा मात्रै सजाय हुन्छ । राहुल गान्धी पछि हट्ने छैनन् । ललित मोदीलगायत देशको पैसा लिएर भाग्ने अरू मोदीहरू पनि छन् । गान्धीले तिनीहरूको बारेमा कुरा गरेका थिए ।’

सजायको घोषणापछि निवेदक पूर्णेश मोदीले सञ्चारमाध्यमसँग भने, ‘हामी यो निर्णयलाई हृदयदेखि स्वागत गर्छौँ । दुई वर्षको सजायको घोषणामा तपाई सन्तुष्ट हुनुहुन्छ भन्ने प्रश्न होइन, यो सामाजिक आन्दोलनको कुरा हो । समाज, जातिविरुद्ध अभिव्यक्ति दिनु हुँदैन । अरु केही छैन, बाँकी हामी समाजमा बसेर छलफल गर्छौं ।’

हिन्दुस्तान टाइम्सको रिपोर्टका अनुसार राहुल गान्धीले १० हजार रुपैयाँ धरौटीमा रिहा हुन पाएका छन् । वर्तमान सांसद भएकाले राहुल गान्धीको सांसद पद अहिले खतरामा छैन । निर्णयलाई चुनौती दिँदै माथिल्लो तहको अदालत जानका लागि गान्धीसँग ३० दिनको समय छ ।

राहुल गान्धीका वकिलहरूको टोलीले सुनुवाइको क्रममा राहुल गान्धीले आफ्नो बयानबाट कुनै समुदायलाई चोट पुर्‍याउन नचाहेको बताएको उल्लेख गरेका थिए ।

राहुललाई कैद सजाय सुनाइएको र त्यससम्बन्धी मुद्दाबारेमा कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले गान्धीलाई अदालतले सजाय सुनाउन सक्ने आफूहरूलाई अनुमान पहिल्यै भएको दाबी गरेका छन् ।

‘यस्तो फैसलाका विषयमा हामीले पहिले नै अनुमान गरेका थियौँ । राहुलले पनि जमानत पाएका छन्,’ उनले भनेका छन्, ‘हामी संविधान अनुसार भविष्यको कार्यदिशा तय गर्नेछौँ । बीजेपीले आफूबाहेक सबैलाई औँला उठायो ।’

गुजरातका बीजेपी अध्यक्ष सीआर पाटिलले राहुल गान्धीले प्रयोग गर्ने भाषामा कुनै नियन्त्रण नभएको जिकिर गरेका छन् । ‘गान्धीले जसलाई जे पनि भन्न सक्छन् । फलस्वरूप, आज उनीमाथि मुद्दा दर्ता भयो र सजाय भयो,’ उनले भने।

राहुल गान्धीले कर्नाटकको कोलारमा चुनावी र्‍यालीमा प्रधानमन्त्री मोदीलाई निशाना बनाएर भनेका थिए, ‘चौकीदार शतप्रतिशत चोर हो ।’ पछिल्लो लोकसभा चुनावमा नरेन्द्र मोदीले आफूलाई देश र जनताको ‘चौकीदार’ भनी प्रचारप्रसार गरेका थिए ।

केन्द्रीय मन्त्री किरण रिजिजुले राहुल गान्धीले जस्तोसुकै अभिव्यक्ति दिन सक्ने बताए । ‘उहाँको पार्टीले पीडा त भोग्छ तर यो देशको लागि पनि राम्रो कुरा होइन । कांग्रेसका केही नेताहरूले पनि भन्ने गरेका छन् । राहुल गान्धीको मनोवृत्ति, सबै बिग्रिएको छ, उनको पार्टी डुब्दैछ,’ उनको जिकिर छ ।

सन् २०१९ को लोकसभा चुनाव प्रचारका क्रममा राहुल गान्धीले कर्नाटकको कोलारमा चुनावी र्‍यालीमा राहुलले भनेका थिए, ‘निरव मोदी, मेहुल चोक्सी, ललित मोदी, माल्या, अनिल अम्बानी र नरेन्द्र मोदी- चोरहरूको समूह ।’ यसपछि राहुलले व्यंग्य गर्दै भने, ‘मसँग एउटा प्रश्न छ । यी सबै चोरहरूको थर मोदी! नीरव मोदी, ललित मोदी र नरेन्द्र मोदी किन छन् ? हामीलाई थाहा छैन, यस्ता मोदीहरू कति आउँछन् ?’

–बीबीसीमा प्रकाशित सामग्रीकाे सहयाेगमा ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१