अमेरिकाको मिसिसिपीमा आँधीका कारण कम्तीमा २३ जनाको मृत्यु

काठमाडाैं । अमेरिकाको मिसिसिपी राज्यमा स्थानीय समय अनुसार शुक्रबार राति आएको आँधीबेहरी र भीषण हावाहुरीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको अधिकारीहरूलाई उद्धृत गरी एबीसी न्यूजले उल्लेख गरेको छ ।

मिसिसिपी इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (एमईएमए) का अनुसार राज्यको राजधानी ज्याक्सनबाट करिब ११० किलोमिटर उत्तरमा रहेको शार्की र हम्फ्रेज काउन्टीमा खोजी तथा उद्धार कार्य जारी छ ।

‘मिसिसिपी डेल्टाका धेरैलाई आज राति तपाईंको प्रार्थना र ईश्वरको सुरक्षाको खाँचो छ,’ स्थितिको भयानक तस्बीर चित्रण गर्दै गभर्नर टेट रिभ्सले ट्वीटरमा लेखेका छन्।

उनले भने, ‘हामीले प्रभावितका लागि थप एम्बुलेन्स र अन्य आपतकालीन सम्पत्ति उपलब्ध गराउने गरी मेडिकल सहयोग जारी गरेका छौं। खोजी र उद्धार कार्य जारी छ।’ मौसमको रिपोर्ट हेर्न र सतर्क रहन स्थानीयबासिन्दालाई सचेत रहन भनिएको छ।

एबीसीका अनुसार शार्की काउन्टीमा १३, क्यारोल काउन्टीमा तीन र मुनरो काउन्टीमा दुई जनाको मृत्यु भएको छ। हम्फ्रेज काउन्टीको सिल्भर सिटीमा एक व्यक्तिको मृत्यु भएको राज्य राजमार्ग गस्ती टोलीले एबीसीलाई बताएको छ ।

मृतक र वेपत्ताहरूको सङ्ख्या निके हुनसक्ने अधिकारीहरूले बताएका छन् ।

शुक्रबार राज्यभरका विभिन्न काउन्टीमा चक्रवातको चेतावनी जारी गरिएको थियो । तर स्थानीय समयअनुसार शनिबार बिहान २:४८ बजे ज्याक्सनका लागि ‘चक्रवातको अवधि समाप्त भएको’ राष्ट्रिय मौसम सेवाले बताएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१