
काठमाडाैं । राहुल गान्धीको सांसद पद खारेज गरेको विषयलाई लिएर सोमबार भारतको संसद्को अवस्था तनावग्रस्त बनेको छ ।
संसद्मा विपक्षी सांसदहरुले विरोध चर्काएपछि राज्यसभा र लोकसभा बैठक निर्धारित समयमा सुरु हुन सकेन । लोकसभा बैठक अपराह्न ४ बजेसम्मका लागि स्थगित गरिएको छ ।
विपक्षी सांसदहरुले राहुल गान्धीको लोकसभा सदस्यता खारेज गरेको विरोधमा नाराबाजी गरेका थिए ।
संसद् जानुअघि भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खडगेसहित विपक्षी पार्टीका नेताहरुको बैठक भएको थियो ।
बैठकमा राहुलको संसद सदस्यता रद्द गरिएको अवस्थामा कसरी एकजुट भएर अघि बढ्ने भन्ने विषयमा छलफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
संसद् बैठकमा कांग्रेस सांसदहरु विरोधस्वरुप कालो पहिरनमा पुगेका थिए ।