भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतबाट पेट्रोल लिटरमा १.७४ रुपैयाँ र डिजल लिटरमा ६ रुपैयाँ ८२ पैसा मूल्य घटेर आएको छ ।

नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी)ले १५/१५ दिनमा पठाउने नयाँ मूल्यसूची अनुसार यसपटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको हो ।

निगमका अनुसार नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरमा १ रुपैयाँ ७४ पैसा र डिजल लिटरमा ६ रुपैयाँ ८२ पैसाले मूल्य घटेर आएको छ ।

यसअघि नै पेट्रोल, डिजल र हवाई इन्धनमा निगमलाई नाफा छ । पछिल्लो समय ग्यासमा प्रति सिलिन्डर ३३८ रुपैयाँले मूल्य बढेर आएका कारण इन्धनमा भएको नाफा ग्यासको घाटा परिपूर्ति गर्न व्यवस्था मिलाइएको थियो ।

अहिले पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १७८ रुपैयाँ र डिजलको १७५ रुपैयाँ छ । यो मूल्यमा कारोबार भइरहँदा निगमलाई पछिल्लो १५ दिनमा लगभग ६० करोड नाफा छ ।

निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजलमा प्रतिलिटर १५ रुपैयाँ नाफा छ । नयाँ सूचीअनुसार आफूले तिर्नुपर्ने खरिद मूल्य घटेर आएपछि अब निगमले बिक्री दर घटाएन भने पेट्रोलमा लिटरको करिब १० रुपैयाँ र डिजलमा २२ रुपैयाँ हाराहारी नाफा हुने देखिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१