
काठमाडौं । दाङको शान्तिनगर गाउँपालिकामा एक शिक्षकले विद्यार्थीमाथि जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको छ । शान्तिनगर गाउँपालिका ७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसइईको तयारी गरिरहेकी छात्रामाथि करणी गरेको जाहेरी परेको हो ।
सोमबार राति ८ बजेतिर सबै साथीहरुसँग बसेर परीक्षाको तयारी गरिरहेका बेला शिक्षक(खुमानन्द पौडेलले) पीडित बालिकालाई काम छ भन्दै बाहिर बोलाएर भवनको भर्याङमुनि लिएर जबरजस्ती करणी गरेको पीडितले बयान दिएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार मंगलबार इप्रकामा जाहेरी परेको हो ।
शिक्षक पौडेल उक्त छात्राबास मा बस्ने विद्यार्थीलाई रेखदेख ,हेरचाह गर्ने कार्य गर्दै आएका थिए । उनी सोही विद्यालयका प्रावि शिक्षक पनि हुन् ।
जाहेरी परेपछि उनको खोजी कार्य भइरहेको डिएसपी मल्लले बताए । पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनको मंगलबार नै स्वास्थ्य परीक्षण गरिएको प्रहरीले बताएको छ ।