नेपालका जलविद्युत परियोजना निर्माणमा सहयोग गर्न विश्व बैंक र एडिबी इच्छुक

काठमाडाैं । नेपालमा जलविद्युत परियोजना निर्माणमा सहयोग गर्न विश्व बैंक र एसियाली विकास बैंक (एडिबी)ले इच्छा व्यक्त गरेका छन् ।

बुधबार अर्थमन्त्री प्रकाशशरण महतसँग विश्वबैंक र एसियाली विकास बैंकका अधिकारीहरूले भेट गरी जलविद्युत र सडक क्षेत्रको विकासका लागि सहयोग गर्ने इच्छा व्यक्त गरका हुन् ।

‘एसियाली विकास बैंकले दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना र विश्व बैंकले माथिल्लो अरुण जलाशययुक्त जलविद्युत् आयोजनामा चासो देखाइरहेका छन्,’ भेटपछि अर्थमन्त्री महतले भने ।

त्यस्तै, सडक आयोजनाहरूमा पनि बजेट सहयोग गर्न इच्छुक देखिएको अर्थमन्त्री महतले जानकारी दिए ।

छलफलका क्रममा ती दातृ निकायले नेपालमा लगानी गरेका विभिन्न आयोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्न अर्थमन्त्रीसँग आग्रह गरेका छन् ।

विश्व बैंक र एडिबीको सहयोगमा सञ्चालित परियोजनाको कार्यान्वयनबारे उनीहरूले चासो राखेका थिए । नयाँ विकास परियोजना र कार्यक्रमका विषयमा पनि छलफल भएको अर्थमन्त्री महतले जानकारी दिए ।

अर्थमन्त्री महतले नेपाललाई सहुलियतपूर्ण ऋण प्रदानलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

‘उहाँहरुले अझै धेरै सहयोग गर्न चाहेको बताइरहँदा हामीलेअनुदान र सहुलियतपूर्ण ऋणलाई प्राथमिकतामा राख्ने भनेका छौं, यसमा उहाँहरु पनि सहमत हुनुहुन्छ,’ उनले भने ।

नेपालको समग्र आर्थिक अवस्था सुधारका लागि सरकारले चाल्ने कदमबारे पनि विश्व बैंक र एडिबीले चासो देखाएका छन् ।

अर्थतन्त्रमा देखिएका समस्या समाधान र मुख्यगरी खर्च गर्ने क्षमतामा देखिएको समस्यालाई बिस्तारै हटाउँदै जानेबारे प्रतिवद्ध रहेको अर्थमन्त्री महतले बताए ।

अर्थमन्त्रीका रुपमा कार्यभार सम्हालेलगत्तै महतले नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड, निजी क्षेत्रका छाता सङ्गठनहरु, विकास साझेदारलगायत क्षेत्रसँग परामर्श थालेका छन् ।

तत्कालीन अवस्थामा अर्थतन्त्रमा खस्किएको मनोबल उकास्नु आफ्नो पहिलो काम हुने पनि उनले बताउँदै आएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१