चितवन–२ मा रवि लामिछानेको उम्मेदवारी कायम, तीनवटै उजुरीको दाबी पुगेन

काठमाडाैं । चितवन क्षेत्र नं.२ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको उम्मेदवार कायम भएको छ ।

उनीविरुद्ध दर्ता भएका तीनवटा उजुरीमा दाबी नपुगेको निष्कर्ष निकाल्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी कायम राख्ने निर्णय गरेको हो ।

सहायक निर्वाचन अधिकृत इश्वर आचार्यका अनुसार रविविरुद्ध दुईजना स्वतन्त्रसहित तीनजना उम्मेदवारले उजुरी गरेका थिए ।

आचार्यले तीनैजनाको उजुरीमा दाबी नपुगेपछि रविको उम्मेदवारी कायमै राख्ने निर्णय भएको छ ।

काठमाडौंबाट युवराज पौडेल ‘सफल’ले ईमेलबाट दिएको उजुरीको निर्णय निर्वाचन आयोगले गर्ने भएको छ । यसबारे आयोगले रविसँग ७ दिनभित्रमा जवाफ मागेको छ ।

उता तीनवटा उजुरीबारेमा रविले मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उपस्थित भएर ६ पृष्ठ लामो जवाफ पेश गरेका थिए ।

यसअघि लामिछानेले पुरानै मतदाता नामावलीको आधारमा उम्मेदवारी दिएको भन्दै उजुरी परेको थियो ।

तिनै उजुरीका आधारमा लामिछानेसँग मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार दिउँसोसम्म स्पष्टीकरण मागेको थियो ।

चितवन २ मा लामिछानेसहित अब २४ जनाको उम्मेदवारी कायम भएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१