
काठमाडाैं । चिनियाँ सेनाले तीन दिने सैन्य अभ्यासका क्रममा ताइवानलाई घेरा हाल्ने अभ्यास सुरु गरेको छ ।
बेइजिङले ताइवानलाई चीनको एउटा टुक्रिएको प्रान्तको रूपमा हेर्छ ।
उसको अहिलेको सैन्य अभ्यासलाई उक्त टापुको सरकारलाई दिइएको “कडा चेतावनी” का रूपमा उल्लेख गरेको छ ।
ताइवानी राष्ट्रपति साई इङ-वेन अमेरिकाको भ्रमणबाट फर्केको केही घण्टापछि चीनले त्यो अभ्यास सुरु गरेको थियो ।
ताइवानको रक्षा मन्त्रालयले ७१ वटा चिनियाँ सैन्य विमान र ९ वटा सैन्य पानीजहाजले ताइवान स्ट्रेटको मध्यरेखा पार गरेको जनाएको छ ।
त्यो चिनियाँ र ताइवानी क्षेत्रलाई अनौपचारिक रूपमा विभाजन गर्ने रेखा हो ।
चीनका राज्य सञ्चालित सञ्चारमाध्यमले उक्त सैन्य अभ्यासले “एकै साथ ताइवान टापुको वरिपरि गस्ती र सैन्य अग्रतालाई व्यवस्थित गर्ने र चौतर्फी घेराबन्दी तथा प्रत्याक्रमणको सङ्केत गर्ने” जनाएका छन् ।
उनीहरूले “लामो दूरीको रकेट, नौसेनालाई ध्वस्त पार्ने अस्त्र, क्षेप्यास्त्र बोक्नसक्ने डुङ्गा, वायुसेना, लडाकु, बमवर्षक विमान”लगायत चिनियाँ सेनाले तैनाथ गरेको पनि जनाएका छन् ।
ताइवानले आफूलाई एउटा सार्वभौम देश मान्छ र उसको आफ्नै संविधान तथा नेताहरू रहेका छन् ।
तर चीनले उक्त टापुलाई आफ्नै टुक्रिएर गएको भू-भाग ठान्छ र त्यो अन्तत: बेइजिङ अन्तर्गत आउनुपर्ने रूपमा हेर्छ । उसले त्यसका लागि आवश्यक परे बल प्रयोग चेतावनी दिने गरेको छ ।
चिनियाँ राष्ट्रपति सी जिन्पिङले ताइवानसँगको “पुन: एकीकरण” जसरी पनि पूरा गर्नुपर्ने बताइसकेका छन् ।
चीनले सैन्य अभ्यास गर्नुको कारण
चीनले प्रायः ताइवानको वरिपरि यस्तो खालको सैन्य अभ्यास गर्ने गर्छ ।
तर यसपालि ताइवानका राष्ट्रपतिले बुधवार अमेरिकी तल्लो सदनमा सभामुखसँग भेटेपछि त्यसको प्रतिक्रियास्वरुप अहिलेको सैन्य अभ्यास गरेको ठानिएको छ ।
ताइवानी राष्ट्रपति शनिवार उनको सरकारले अमेरिका र अन्य लोकतान्त्रिक राष्ट्रहरूसँग काम गरिरहने बताएकी छन् ।
उनका भनाइमा उक्त टापुले चीनबाट “निरन्तर अधिनायकवादी विस्तारवाद”को सामना गरिरहेको छ ।
ताइवान वरिपरि चीनको तीन दिने सैन्य अभियानलाई “युनाइटेड शार्प स्वर्ड” भनिएको छ ।
यो अभियान सोमवारसम्म चल्ने पिपुल्स लिबरेसन आर्मी (पीएलए)को पूर्वी थिएटर कमाण्डले जनाएको छ ।
ताइवानको रक्षा मन्त्रालयले आफूले चीनको अभ्यासलाई “शान्त, तर्कसङ्गत र गम्भीर ढङ्गका साथ” जवाफ दिने बताएको छ ।
त्यो द्वन्द्व पनि नबढाउने र आफ्नो राष्ट्रिय सार्वभौमसत्ता र सुरक्षाको रक्षा गर्न विवाद पनि ननिम्त्याउने आफ्नो सिद्धान्तमा आधारित भएको ताइवानको भनाइ छ ।