सरकार विरोधी अभियान चलाउने दुई वकिललाई चीन सरकारले सुनायाे जेल सजायको फैसला

काठमाडाैं । चीनको शान्दोङ प्रान्तस्थित एक अदालतले सरकार विरोधी अभियान चलाउने दुई जना वकिललाई जेल सजायको फैसला सुनाएको छ ।

बन्दी बनाएको दुई वर्षपछि उनीहरूलाई अदालतले जेल सजाय सुनाएको हो ।

चिनियाँ वकिल डिङ जियासीलाई अदालतले १२ वर्षको कैदको सजाय सुनाएको उनकी श्रीमतीले ट्विटरमा उल्लेख गरेको बीबीसीले जनाएको छ ।

अर्का वकिल सु झियोङलाई १४ वर्ष जेल भएको पनि उनले उल्लेख गरेकी छिन् । सन् २०२२ को जुन महिनामा बन्दकोठामा गरिएको सुनुवाइमा उनीहरूलाई सो सजाय भएको बताइएको छ । एउटा अभियानका क्रममा सरकारले उनीहरूलाई सन् २०१९ र २०२० मा छुट्टाछुट्टै पक्राउ गरेको थियो ।

डिङ ५५ वर्षका छन् भने सु ५० वर्षका छन् । उनीहरूले सन् २०१० मा संयुक्त रूपमा ‘न्यु सिटिजन्स मुभमेन्ट’ आयोजना गरेका थिए, जसले नागरिक अधिकार र सरकारलाई पारदर्शी बनाउने अभियान चलाउने गर्थ्यो ।

उनीहरूको अभियानलाई चीन सरकारले प्रतिबन्ध लगाएको थियो । पछि बेइजिङमा आप्रवासीलाई पनि समान सामाजिक र शैक्षिक सुविधा दिइनुपर्ने मागसहितको प्रदर्शनमा भूमिका खेलेको भन्दै सन् २०१३ मा डिङ र सन् २०१४ मा सु पक्राउ परेका थिए । डिङ २०१६ मा र सु २०१८ मा छुटेका थिए । पछिल्लोपटक २०२१ फेब्रुअरीमा उनीहरूलाई पक्राउ गरिएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१