
काठमाडौं । जीवन बीमक संघ नेपालले जापानको जीवन बीमक संघ फालिया (फाउन्डेसन फर दि एडभान्समेन्ट अफ लाइफ एण्ड इन्स्योरेन्स अराउण्ड दि वर्ल्ड) सँग मिलेर आगामी वैशाख १२ गते काठमाडौंको रविभवन स्थित होटेल क्राउन इम्पेरियलमा ‘जापान–नेपाल : टप लेभल म्यानेजमेन्ट सेमिनार’ आयोजना गर्ने भएको छ ।
जीवन बीमक संघले संघका अध्यक्ष पोषक राज पौडेलको पहलमा फालियासँग मिलेर पहिलोपटक यस्तो सेमिनार आयोजना गर्न लागेको हो ।
उनले आफ्नो जापान भ्रमणमा फालियाका प्रतिनिधिहरुसँग भेटघाट गरेका थिए । सोही भेटघाटमा उनले नेपालमा पनि एउटा सेमिनार आयोजना गर्ने प्रस्ताव गरेका थिए । फालिया र जीवन बीमक संघ नेपालले आगामी दिनमा पनि एक आपसमा सहकार्य गर्दै थप कार्यक्रम गर्दै जाने सहमति समेत गरेको अध्यक्ष पोषक राज पौडेलले जानकारी दिएका छन् ।
संघले सम्पूर्ण जीवन बीमा कम्पनीहरुलाई प्रमुख कार्यकारी अधिकृत सहित तीन जना प्रतिनिधिहरुलाई सहभागी हुन आमन्त्रित गरेको छ । संघले बैशाख ७ गतेसम्म सहभागीको सूची बुझाउन सम्पूर्ण कम्पनीलाई पत्राचार समेत गरिसकेको छ ।
वैशाख १२ गते विहान ९ बजेदेखि कार्यक्रम सुरु हुने संघले जनाएको छ । सेमिनारको प्रारम्भमा जीवन बीमक संघ नेपालका अध्यक्ष पोषक राज पौडेल र फालियाका प्रबन्ध निर्देशकले संबोधन गर्नेछन् । एक दिने सेमिनारमा तीन वटा सेसन सञ्चालन हुनेछन् ।
पहिलो सेसन ७० मिनेटको रहनेछ जसमा फालियाको तर्फबाट ‘द्रुत गतीमा बदलिरहेको व्यापार वातावरणमा जीवन बीमा उद्योगका चुनौतीहरू’ विषयमा प्रस्तुतिकरण रहेको छ । दोश्रो सेसनमा ‘जापानको जीवन बीमा उद्योगमा आएको परिवर्तन र नेपालको जीवन बीमा कम्पनीहरूका लागि सुझावहरू’ बारे प्रस्तुतिकरण रहेको छ ।
साथै तेश्रो सेसन ‘जीवन बीमा कम्पनीको दिगोपन व्यवस्थापन’ सम्बन्धी रहेको छ । सेमिनारको अन्तिममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सम्बोधन गर्नेछन् ।