
काठमाडौं । सहरी विकास मन्त्रालयले बोलाएको फोहोर व्यवस्थापनसम्बन्धी बैठक केहीबेर बसेर सकिएको छ ।
बैठक बसे पनि निचोडमा पुग्न नसकेपछि केही समयपछि फेरि बस्ने परिवर्तन नेपालका व्यवस्थापन प्रमुख मित्र घिमिरेले जानकारी दिए ।
‘केही समयअघि बसेको बैठकमा केही निचोडमा पुग्न नसकेको कारण अब केही समयपछि पुनः बैठक बस्ने योजना छ’, उनले भने ।
विगत ११ दिनदेखि सिंहदरबारदेखि राष्ट्रप्रमुख र संघीय सरकारका पदाधिकारीहरूको निवासबाट काठमाडौं महानगरले फोहोर उठाएको छैन । सरकारले वार्तामा नबोलाएसम्म फोहोर नउठाउने मेयर बालेन शाहले अडान लिएका छन् ।
सिंहदरबार भित्रका सबै कार्यालयबाट फोहोर उठाएर कम्पाउन्डभित्रै राखिएको छ । फोहोर छुट्याएर तीन तरिकाले व्यवस्थापन गर्न थालिएको छ ।
रिसाइकल गर्न मिल्ने फोहोर कबाडीमा बेच्ने गरिएको छ । यस्तै केही मात्रामा जनावरका लागि चाराका रूपमा प्रयोग गर्न मिल्ने कुहिने फोहोर फार्महरूमा पठाइने र जैविक फोहोर नजिकै भएको खाल्डोमा पुर्ने गरिएको छ ।
परिवर्तन नेपाल नामक संस्थाले राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबार क्षेत्रको फोहोर उठाउने र सरसफाइ गर्ने काम गर्छ ।
काठमाडौं महानगरको भिआइपी एरियाबाट दैनिक नौ टज फोहोर उठ्ने गरेको छ ।
संविधानको अनुसूची(८ मा फोहोरमैला व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ ।
फोहोरमैला व्यवस्थापन ऐन २०६४ ले पनि फोहोरमैला उठाउने र व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ ।
बालेनले गत शनिबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै सिंहदरबारको फोहोर नउठ्ने बताएका थिए ।
बालेनको अभिव्यक्तिको विषय मन्त्रिपरिषद्सम्म पुगेको थियो ।
बालेनको अभिव्यक्ति र फोहोर नउठाउने निर्णयबारे सरकारले उनलाई गम्भीर ध्यानाकर्षण गराउने निर्णय समेत गरेको थियो ।