डुब्नै लाग्यो इमेज सहकारी, बचतकर्ताको करोडौँ पैसा जोखिममा

बागलुङ । इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले बचत फिर्ता गर्न नसकेपछि बचतकर्ता समस्यामा परेका छन् ।

सहकारीमा जम्मा गरेको लाखौँ रुपैयाँ फिर्ता नभएपछि बचतकर्ता समस्यामा परेका हुन् । बिहिबार कार्यालय समयदेखि नै सहकारीमा बचत फिर्ता लिनेकाे भीड लागेकाे थियाे ।

बचत फिर्ताको लागि पटक–पटक सहकारीमा पुग्दा पनि फिर्ता नपाएको गुनासाे पीडितहरुले गरेका छन् ।

बचतकर्ता संगीता परियार भन्छिन्- ‘बचत फिर्ताको लागि हामी हिजो आएका थियौँ, हिजो सिस्टमले काम गरेको छैन भनेर फर्काइयो’ उनले भनिन्–‘आज पनि दिएनन्, हामीलाई जसरी पनि पैसा चाहिन्छ ।’

उनले सहकारीमा ४ लाख ५० हजार रुपैयाँ बचत गरेको बताइन् ।

अर्की बचत कर्ता सुनिता खड्काले पनि सहकारीले बचत फिर्ता नगरेको भन्दै आक्रोस पोखिन् ।सहकारीमा बचत गरेको १८ लाख फिर्ता नभएपछि आफ्नो बचत जोखिममा परेको बताइन् ।

‘हिजो पैसा माग्न आउँदा सिस्टम चलेको छैन भनियो आज आउँदा कर्मचारी नै छैनन्’ उनले भनिन्–‘दुःख गरि जम्मा गरेको पैसा फिर्ता नपाउँदा घरपरिवार चलाउन नै गाह्रो भइरहेको छ ।’

बागलुङ नगरपालिका वडा न. २का गुरु प्रसाद सापकोटाले भविष्यमा केही होला भनेर जम्मा गरेको पैसा सहकारीले हिनाबिना गरिदिएको बताए । सहकारीमा करिब १२ लाख रुपैयाँ बचत रहेको बताउँदै उनले दुःख गरि जोगाएको पैसा हिनाबिना गर्नेलाई कार्वाही हुनु पर्ने बताए ।

बचतकर्ता पुष्पा पौडेलले राम्रो ब्याज दिईरहेको सहकारी यो हालतमा पुग्दा आफु छाँगाबाट खसेजस्तो भएको बताइन् । ‘छोराछोरी पढाउन भनेर दुःख गरेर सहकारीकारीमा बचत गरियो, त्यहि पैसा आज फिर्ता दिन सकेन’ उनले भनिन्–‘यसले परिवारमा नै ठूलो समस्या आउने भयो ।’

उनले आफ्नो बालबच्चको पढाइको लागि भन्दै खाइनखाइ सहकारीमा १२ लाख रुपैयाँ बचत गरेको बताइन् । सबै बचत डुब्ने चिन्ताले सताएको उनको भनाइ छ । सहकारीमा सैयौँ बचत कर्ताको करोडौँ रुपैयाँ जोखिममा परेको बचत कर्ताको बुझाइ छ ।

आफ्नो बचत डुब्ने भयले बागलुङ नगरपालिका वडा न. २ मा रहेको सहकारीको कार्यालयमा बचतकर्ताहरुको रुवाबासी चलेको छ । कार्यालयमा बचत फिर्ता गर्नेहरुको भीड नै लागेको छ ।

उनीहरुले आफूहरुको पैसा असुरक्षित रहेको भन्दै सहकारी प्रति आक्रोश पोखिरहेका छन् ।

सहकारीका प्रबन्धक शिव बोहोरा लगायतका १२ जना कर्मचारी भागेपछि झनै समस्या निम्तिएको छ । कर्मचारीले सहकारीमा संकट आउन थालेपछि आफन्तको बचत फिर्ता गर्न लगाएर फरार भएको बचतकर्ताको आरोप छ ।

शाखा प्रबन्धक परियार मोबाईल स्वीच अफ गरेर फरार भएका छन् ।

सञ्चालक समितिका लक्ष्मी सुनारले कर्मचारी भागेको कारण आफूहरुलाई समस्या भएको बताइन् । उनले आफूहरु कर्मचारीसँग छलफल गर्न कार्यालयमा आउँदा १८ जना कर्मचारी मध्ये जम्मा ६ जना मात्र रहेको बताइन् ।

उनले शाखा प्रबन्धक परियारले मोबाइलमा फोन नलाग्ने गराएको बताइन् । उनले पछिल्लो एक हप्तामा सहकारीबाट ठूलो मात्रामा बचत फिर्ता भएको बताइन् ।

‘बजारबाट पैसा कम उठ्योे, फिर्ता माग्नेहरुको संख्या ठूलो भयो’ उनले भनिन्–‘त्यही कारण पनि समस्या भयो ।’ कर्मचारीको बदमासीको कारण पनि सहकारी समस्यामा परेको बताइन् । उनले सहकारीका कर्मचारीले नै बचत फिर्ता गर्न आग्रह गरेको अडियो फेला पारेको बताइन् ।

सहकारीका सञ्चालक चित्र बहादुर भण्डारीले यसको व्यवस्थापन गरि बचतकर्तालाई छिट्टै पैसा फिर्ता गर्ने आश्वासन दिए । उनले विभिन्न ठाउँमा लगानी गरिएको उल्लेख गर्दै एक/डेढ हप्तामा बचत फिर्ता गरिने बताए ।

यही वैशाख ६ गते सहकारी सञ्चालक समितिको बैठक बसेर आर्थिक तरलताको अभाव भएको भन्दै कारोबार बन्द गर्ने निर्णय गरेको थियो । सहकारी संस्थाका अध्यक्ष देव कुमार नेपालीले जनताको पैसा जसरी पनि फिर्ता गर्ने बताएका छन् । उनले आफ्नो व्यक्तिगत सम्पति बेचेर भए पनि जनताको पैसा फिर्ता गर्ने बताए ।

‘जनताको पैसा कहिँ जाँदैन, मैले मेरो सम्पति बेचेर भए पनि फिर्ता गर्छु’ उनले भने–‘केही ढिलो चाँडो होला तर जनताले बचत गरेको पैसा फिर्ता पाउनु हुन्छ ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१