
काठमाडौं । नागरिक उड्ययन प्राधिकरणले सोमबार राति काठमाडौंबाट दुवईका लागि उडेको जहाजमा चरा ठोक्किएको भन्ने भ्रमपूर्ण समाचार दिएको भन्दै दुई अधिकारीलाई विमानस्थल प्रवेशमा रोक लगाएको जनाएको छ ।
फ्लाई दुवईका कन्ट्री म्यानेजर र विमानस्थल म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाई उनीहरुको विमानस्थल प्रवेश पास निस्क्रिय पारिएको जनाएको छ ।
सामाजिक सञ्जालमार्फत् प्राधिकरणले यस्तो जनाएको हाे ।
काठमाडौंबाट दुवईका लागि सोमबार बेलुका उडेको एफडीजेड५७६ विमानमा उड्नासाथ समस्या देखिएको भए पनि पछि सबै ‘प्यारामिटर’ नर्मल रहेको भन्दै गन्तव्यमा पुगेकाे थियो ।
काठमाडौंबाट सोमबार बेलुका ९ बजेर २० मिनेटमा उडेको जहाजबाट ‘ठूलो आवाज’ आएको थियो । काठमाडौंका स्थानीयले ‘पड्किएको आवाज’ सुनेको बताएका थिए ।
त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ निरौलाका अनुसार जहाज उड्नासाथ समस्या आएको भन्दै अवतरणको अनुमति मागिएको थियो । त्यसपछि विमानस्थलमा आकस्मिक अवतरणको तयारी गरिएको थियो ।
अन्य गन्तव्यतर्फबाट आएका जहाजलाई एकैछिन रोकेर फ्लाई दुवईको जहाज अवतरणको तयारी गरिएको उनले जानकारी दिए ।
तर पछि जहाजले ‘आफ्ना सबै प्यारामिटर नर्मल’ अवस्थामा रहेको भन्दै गन्तव्यतर्फ लागेपछि अन्य जहाजहरु अवतरण गराइएको थियाे ।