वर्तमान सरकार विदेशी लगानी आकर्षित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार विदेशी लगानी आकर्षित गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

शुक्रबार लगानी बाेर्ड नेपाल र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेको लगानीका लागि अन्तर्राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशी लगानी आकर्षित गर्न र नयाँ अवसर सिर्जना गर्नका लागि अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले नेपालको विकास प्रयासहरूमा वित्तीय संस्था र विकास साझेदारका साथै निजी क्षेत्रसँग प्रभावकारी साझेदारी गर्न उत्सुक रहेको धारणा पनि राखे ।

लगानीको वातावरण बनाउनका लागि नीतिगत, कानुनी, नियामक, प्रक्रियागत र संस्थागत व्यवस्था सुधार गर्न पहल गरिसकेको उनले जानकारी पनि दिए ।

कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्वव्यापी वित्तीय घटनाहरुको खासै प्रभाव नपरे पनि केही समस्या भने देखिएको भन्दै त्यसलाई समाधान गर्नका लागि सरकार अघि बढिरहेको जानकारी दिए ।

उनले रेमिट्यान्सले मुलुकको अर्थतन्त्रलाई टेवा पुर्‍याइरहेको भए पनि त्यसलाई उत्पादनशील क्षेत्रमा पर्याप्त रुपमा प्रयोग गर्न नसकिएको धारणा राखे ।

उनले सम्पूर्ण ध्यान परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ केन्द्रित गर्न र आगामी दिनमा सम्भाव्य वित्तीय साधनको विकास गर्न निजी क्षेत्रसँग सहकार्य गर्नका लागि पनि तयार रहेको धारणा पनि राखे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१