नेपालको कालापानी क्षेत्रबाट भारतीय सुरक्षा फौज तुरुन्त हट्नु पर्छ

दुईजना विद्वान मित्रहरु-डा.सुरेन्द्र भण्डारी र डा.अच्युत गौतमले संयुक्त रुपमा तयार गर्नु भएको “Nepal-India Frontier Diplomacy in Refernece to Kalli River: Perspectives of International Law” (अन्तर्राष्ट्रिय कानूनको परिपेक्ष्यमा काली नदी र नेपाल–भारत सीमा कुटनीति) नामको अत्यन्त महत्वपूर्ण पुस्तक सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट २०८० साल बैसाख ३० गते राष्ट्रिय सभा गृहमा खचाखच भरिएका विभिन्न विधाका विद्वानहरुको उपस्थितिमा विमोचन भएको छ । म पनि त्यस समारोहमा वक्ताको रुपमा उपस्थित भएको थिएँ । सबै वक्ताहरुलाई समय १० मिनेट मात्र थियो । मैले आफ्नो पालोमा समयभित्र पुस्तकसंग सम्बन्धित र सान्दर्भिक रहेर सभामा विचार प्रस्तुत गरेको थिएँ । सान्दर्भिक ठानेर मैले राखेको विचारलाई परिमार्जन र सम्पादन गरी पाठकहरु समक्ष रचनाको रुपमा प्रस्तुत गरेको छु ।

नेपाल विगत ४ हजार वर्षभन्दा लामो समयदेखि अस्तित्वमा रहेको राज्य हो । यो कहिले विशाल अवस्थामा फैलियो, कहिले खुम्चनु पर्‍याे । हामीलाई गर्व हुने विषय के हो भने हाम्रा छिमेकी मुलुकहरु सयौं वर्षसम्म वृटिश साम्राज्यवादका उपनिवेश तथा अर्ध उपनिवेशमा रहँदा नेपाल स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न मुलुकका रुपमा आफ्नो अस्तित्वलाई जोगाई शीर ठाडो गरेर बाँचिरहेको राष्ट्र हो । सन् १८१४ देखि १८१६ सम्म अंग्रेज साम्राज्यवादले पाँच ठाउँबाट एकैचोटी त्यसवेला विकसित हातहतियार, बमगोला प्रयोग गर्दै आक्रमण ग¥यो । त्यसवेला नेपाललाई सहयोग गर्ने अर्को राज्य तथा राष्ट्र कोही पनि थिएन । नेपालीहरुले देशको प्राकृतिक अवस्थाको अनुकूलतालाई प्रयोग गर्दै आफुसंग भएका पुराना हातहतियार र कौशलताले दुई वर्षसम्म प्रतिरोध युद्ध जारी गर्‍यो । त्यसवेला अंग्रेज साम्राज्यवादसंग दुई वर्षसम्म प्रतिरोध युद्ध जारी गर्ने संसारमा कुनै मुलुक देखिएन । आफ्नो अधिनमा रहेको ३ लाख ६५ हजार ३ सय ३५ वर्ग कि.मी. मध्ये बाध्यतावस २ लाख १७ हजार ८ सय १९ वर्ग कि.मी.भूमि नेपालले गुमाउनु प¥यो र अहिले नेपालसंग १ लाख ४७ हजार ५ सय १६ वर्ग कि.मी. भूमि मात्र छ । नेपालले गुमाउनु परेको भूमि मध्ये २ लाख ५ हजार ८१९ कि.मी. अहिले भारत अधिनस्थ छ र १२ हजार वर्ग कि.मी. बंगलादेशमा रहेको छ । नेपाल राष्ट्रका निम्ति त्यो घटना अत्यन्त दुखद र यथार्थ रहेको छ । स्वतन्त्रता प्राप्ति पछि वृटिश सरकार भारतबाट विदा हुँदा नेपालले गुमाएको भूमि माथि हकदावी गर्छ भने वृटिश सरकार दृढतापूर्वक नेपालको पक्षमा उभिनेछ भनेर तत्कालिन श्री ३ हरु समक्ष पटक पटक प्रस्ताव राखेकोे थियो भनेर “श्री ३ हरुको तथ्य वृतान्त” भन्ने पुस्तकमा उल्लेख छ । तर गुमेको त्यो भूमि माथि उनीहरुले दावी गरेनन् । आजको नेपालले दावी गरेर त्यो पाउने अवस्था छैन । किनभने नेपालले गुमाउनु परेको त्यो भूमिमा झण्डै ९ करोड भारतीय जनताको बसोबास छ । जनता निर्णायक भएको आजको युगमा सयौं वर्षपछि दावी गर्नु औचित्यपूर्ण हुँदैन र त्यस्तो इच्छा राख्नु सकिन्न ।

गणतन्त्र भारतसंग करिब ३२ लाख ८७ हजार २६३ वर्ग कि.मी. भूमि र यो विशाल भूमिमा करिब १ अर्ब ४० करोड जनसंख्या रहेको छ । भारत भूमि र जनसंख्याको आधारमा संसारकै विशाल मुलुकहरुमा पर्छ । यस हिसावले नेपाल र भारतको तुलनानै हुन सक्दैन । तर भारतले नेपालको दार्चुला जिल्ला स्थित भारत र चीन सिमाना जोडिएको कालापानी, लिपुलेख र लिम्पियाधुरामा रहेको नेपालको ३९५ वर्ग कि.मि.भूमि अतिक्रमण गरेको छ तथा त्यहाँ भारतीय फौंज र कर्मचारीहरु राखेको छ । नेपाल र वृटेनसंग रहेका तथ्य प्रमाणहरुले यो भूमि नेपालको हो भनेर प्रमाणीत गरिरहेका छन् । सन् १८१६ को नेपाल–भारत सन्धिमा पनि नेपालले महाकाली पश्चिमको भूमिमा हकदावी गर्नेछैन भनेर उल्लेख भएको छ । त्यसोभएर लिम्पियाधुराबाट निश्केको महाकाली नदीका कारण लिम्पियाधुरा नै नेपाल–भारत–चीनको त्रिदेशीय सिमाना बिन्दु हो । नेपालको पश्चिम–उत्तर सिमाना लिम्पियाधुरा हो । तर भारतले सन् १९६० देखि नेपालको सो भूमि अतिक्रमण गरेर कब्जा गरिरहेको छ । छिमकी मित्र राष्ट्रको यो व्यवहारबाट सबै नेपाली जनता अत्यन्त दुखी भएका छन् । कुनै पनि राज्यको सार्वभौमिकता त्यहाँ रहने जनताको प्राण जतिकै महत्वूर्ण हुन्छ । नेपालसंग रहेको १ लाख ४७ हजार ५१६ वर्ग कि.मी. भूमि मध्ये ३९५ वर्ग कि.मी. भूमि ज्यादै थोरै हो । तर स्वतन्त्रता र सार्वभौमिकताको हिसाबले भारतले अतिक्रमण गरेको त्यो नेपाली भूमि नेपालसंग रहेको अन्य सम्पूर्ण भूमि बराबर महत्व र भावनात्मक रुपले विशाल हो ।

मैले माथि उल्लेखित महत्वपूर्ण पुस्तक विमोचन कार्यक्रमलाई भारत सरकारद्वारा जबरजस्ति कब्जा गरिएको कालापानी, लिपुलेक र लिम्पियाधुराको सम्पूर्ण जमिन फिर्ता लिन जनमत सृजना गर्ने सभाका रुपमा परिणत गर्न चाहेको थिएँ । तर १० मिनेटको समयमा मैले आफ्नो चाहना पुरा गर्न सकिने अवस्था रहेन । पहिलो पटक मैले राष्ट्रिय सभागृहमा विभिन्न विधाका नेपाली विद्वानहरुको उपस्थिति देखेको थिएँ । त्यसोभएर पुस्तकका विषयबस्तुको सार त्यो नेपाली भूमिबाट भारतीय फौज र कर्मचारीहरु तुरुन्त हट्नुपर्छ भन्ने बुझेर अनेक पटक उच्चारण गरेको थिएँ । समय अभावका कारण पुस्तकसंग सान्दर्भिक कतिपय महत्वपूर्ण विषयबस्तुहरु राख्न पाइन र नेपालको कालापानी क्षेत्रबाट भारतीय फौंज र कर्मचारी तुरुन्त हट्नु पर्छ भन्ने शिर्षक राखेर यो रचना तयार गरेँ । तयार भए पछि कतिपय पत्रिकामा प्रकाशित गर्नका निम्ति यसलाई पठाएँ । तर ती प्रत्रिकाले सामयीक सान्दर्भिक भएन भन्दै प्रकाशित गर्न मान्नु भएन । कालापानी क्षेत्रबाट भारतीय सुरक्षा सैनिक र कर्मचारी हट्नु पर्छ भन्ने विषयले सामयीक विषयबस्तुलाई विषयान्तर गर्न सक्छ भन्नु भएको सुनियो । अहिले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई विदेश पठाउने काण्डले नेपाली समाज उद्देलित भएको छ । यो काण्ड लज्जास्पद संसारभरी नेपाल र नेपालीको अपमान गराउने नेपालको शीर निहुँराउने काण्ड हो । यस प्रति कुनै किसिमको सदभाव राख्न सकिन्न र दोषीहरुलाई कानून बमोजिम सजाय दिन हिचकिचाउनु हुँदैन । अहिले नेपाल काण्डै काण्डले भरिएको छ, कहिले राजनीतिक काण्ड, आर्थिक काण्ड, कहिले सामाजिक काण्ड, कहिले सांस्कृतिक काण्ड, अहिले नक्कली भुटानी शरणार्थी काण्ड देखापरेको छ । तर यी सबै काण्डहरु भन्दा नेपालको सार्वभौमिकता, स्वतन्त्रता र अखण्डताको रक्षा गर्ने काम सिंगो नेपाल राष्ट्रको सबभन्दा ठूलो कार्यभार हो । २०७७ सालमा सम्पन्न भएको नेपालको संघीय संसदको सर्वसम्मतिमा पुनः नेपालको नक्सा जारी गरिसकेपछि अतिक्रमित भूमिबाट भारतीय सेना र कर्मचारी फिर्ता गर्ने सम्बन्धमा त्यसयताका कुनै पनि सरकारले कुनै किसिमको पर्यत्न गरेको जानकारी छैन । नेपालमा काण्डहरु एकपछि अर्को भइ नै रहनेछन् र तिनै काण्डको छायाँमा मुख्य कार्यभारलाई पार्नु सानोतिनो कमजोरी मैले ठान्दैन । नेपालको सार्वभौम अधिकारको रक्षालाई तल्लो स्तरमा झार्दै अन्त्यमा विदेशको निगाहमा समर्पण गर्ने दूश्कार्यलाई अहिले नभए पनि भविष्यमा देशभक्त नेपालीले क्षमा गर्नेछैनन् ।

सार्वभौमिकता कति महत्वपूर्ण हुन्छ भन्ने विषयमा ऐतिहासिक कालको एउटा घटना यहाँ उल्लेख गर्न चाहन्छु । इ.पू.पाँचौ शताब्दीमा अहिले नेपालमा रहेको लुम्बिनी प्रदेशको पश्चिम नवलपरासी, रुपन्देही र कपिलबस्तुु जिल्लाको भूभागमा शाक्य र कोलीय नामका दुई गणराज्यहरु थिए । शाक्य गणराज्यमा रहेका राजा शुद्धोधन र रानी मायादेवीको कोखबाट विश्व प्रसिद्ध सिद्धार्थ गौतम बुद्ध जन्म भएको थियो । शाक्य र कोलीय गणराज्यका शासकहरुका वीच सुमधुर सम्बन्ध र विहेवारी हुने गर्दथ्यो । त्यसवेला कोलीय गणराज्यका राजा सुप्रबुद्धकी छोरी मायादेवीसंग राजा शुद्धोधनको विहे भएको थियो । त्यसैगरी शुद्धोधनका छोरा शाक्य गणराज्यका राजकुमार सिद्धार्थ गौतमको आफ्नै मामाकि छोरी कोलीय गणराज्यकी राजकुमारी यशोधरासंग विहे भएको थियो । त्यसवेला राजाहरु हरेक वर्ष जनप्रतिनिधि सभाबाट निर्वाचित हुने चलन थियो । समाजमा तीन वर्गहरु अस्तित्वमा थिए । ती मध्य राज्य संचालन गर्ने अधिकार सहितको उच्च वर्ग जस्बाट राजा र सेनापति निर्वाचित हुने गर्दथिए। अर्को मध्यम वर्ग जस्ले उच्च वर्गसंगै जमिनमा अधिकार प्राप्त गर्दथे र सभासद, राजा र सेनापतिको निर्वाचनमा भाग लिन पाउँथे । राजपरिवार सहित उनीहरुलाई चलनचल्तिको भाषमा स्थावीर पनि भनिन्थ्यो । स्थावीरको अर्थ स्थान अथवा भूमि र वीरको अर्थ मालिक समग्रमा उनीहरु नै त्यो राज्यको भूमिमा मालिक थिए । त्यही स्थावीर नाम कालान्तरमा भाषान्तर भई थारु हुन गएको मानिन्छ । अहिले नेपालमा रहेको थारु जाति त्यसवेलाका स्थावीरहरु हुन । त्यसैगरी तेस्रो थियोे दास वर्ग । उनीहरुको बाँच्न पाउने बाहेक अन्य अधिकार केही थिएन । उनीहरु रातोदिन कृषि उत्पादन र मालिकहरुको सेवा कार्यमा खट्नु पर्दथ्यो । उनीहरु बजारको माल जस्तै खरिद विक्रि हुने गर्दथे । त्यो अवस्थाको समाज शाश्त्रिय विश्लेषणको आधारमा भन्नु पर्दछ सिद्धार्थ गौतम बुद्धको जन्म कालको युग दास–मालिक युग थियो ।

त्यो कालमा नेपाल र भारतका अनेकौं राज्यहरुमा कृषि उत्पादनको धेरै महत्वपूर्ण स्थान रहेको थियो । कोलीय र शाक्य गणराज्यमा कृषि उत्पादनमा सिचाईको धेरै महत्वपूर्ण स्थान छ भन्ने मान्यता राखिएको थियो । दुबै गणराज्यको सिमानाको अधिकांश हिस्सामा अहिले रुपन्देही र पश्चिम नवलपरासीको सिमानामा बग्ने सानो रोहीणी नदी थियो र अहिले पनि त्यो नदी रहेकै छ । सिमानामा रहेको रोहीणी नदीमा बग्ने पानी माथि हकदावी दुबै राज्यले उत्तिकै महत्वका साथ गर्ने गर्दथे । सामाजिक सम्बन्ध अत्यन्त मधुर रहेका वेला पनि पानी माथिको हकदावीमा तलमाथि प¥यो भने वैमनश्यता सृजना हुनसक्ने अनुमान गर्दै दुबै गणराज्यमा रहेका निर्वाचित जनप्रतिनिधि सभाको निर्णयले एउटा सन्धि भएको थियो । त्यसअनुसार रोहीणी नदीमा बग्ने पानी माथि दुबै राज्यको बराबर अधिकार रहेको थियो । साथै तोकिएको ठाउँमा बाँध हालेर नहर बनाउने र पानी आधा आधा लैजाने व्यवस्था पनि गरिएको थियो । जस्तै अवस्था आए पनि पानी माथि रहेको अधिकार कसैले उल्लघंन गर्न नपाउने र उल्लघंन गरेमा उल्लघंन गर्ने व्यक्ति जोसुकै भएपनि मृत्यू दण्ड दिनु पर्ने त्यसो नगरे युद्धबाट टुंगो लगाउने गरी वचनवद्धता गरिएको थियो । त्यसवेला अक्षरहरु विकसित भइसकेका थिएनन् । त्यसोभएर सन्धि लिखित हुनसक्ने अवस्था नै थिएन । सन्धि सिद्धार्थ गौतम भन्दा ३÷४ पुस्ता पहिले भएको थियो । सन्धिलाई दुबै राज्यले अत्यन्त शतर्कतापूर्वक अवलम्बन गरिरहेका थिए ।

एक दिन सिद्धार्थ आफ्नो राज्यको पूर्वी सिमाना तर्फ निरीक्षणका निम्ति गएका वेला त्यहाँका किसानहरुले खेत सिचाईका निम्ति पानी अति आवश्यक रहेको र रोहीणी नदीमा कोलीय गणराज्यको हिस्सामा रहेको पानी खेततिर नलगी खोलामै बगाइ दिएको हुनाले त्यो पानी आफुहरुको खेत सिचाईका निम्ति अनुमति मागे । त्यसवेला सिद्धार्थले बाबु बाजेहरुको पालामा भएको सन्धिलाई ख्याल गर्न सकेनन् र सामान्य रुपमा खेर गइरहेको पानी ल्याएर सिचाई गर्न राम्रै हुन्छ भन्ने लागेर अनुमति दिए । सिद्धार्थ आफ्नो दरबार फर्केको केही समय पछि कोलीय राज्यको सिमाना हेर्ने रक्षकहरुले आफ्नो हकदावीको पानी शाक्य गणराज्यले प्रयोग गरिरहेको छ भन्ने रिपोर्ट राजदरबारमा पठाए । त्यहाँका राजाले रिपोर्ट सही भए नभएको बुझ्न उच्च अधिकारीहरुलाई निरीक्षणमा पठाए, उनीहरुले पनि सीमा नदीको पानी शाक्य गणराज्यमा पुरै लगिएको रिपोर्ट दिए । त्यसलाई कोलीय गणराज्यका सेनापतिले गम्भीर घटनाका रुपमा लिए र राजा समक्ष जनप्रतिनिधि सभाको बैठक बोलाउन अनुरोध गरे । सभाको बैठक बस्यो सभाले तुरुन्तै एउटा प्रतिनिधि शाक्य गणराज्यको राजधानी रहेको तिलौराकोट दरबारमा आपत्ति जनाउन र गल्ती गर्ने माथि कारबाही गरेर सन्धि पालना गर्नुपर्ने विषय जानकारी गराउने निर्णय ग¥यो । निर्णय गर्दा साथ त्यसलाई लिएर विशिष्ट दूत शाक्य गणराज्यको राजधानी गयो ।

कोलीय गणराज्यबाट गएका दूतले शाक्य गणराज्यका सेनापतिलाई भेटेर आफ्नो राज्यको जनप्रतिनिधि सभाले गरेको निर्णय सुनाए तथा सन्धि तुरुन्त कार्यान्वयन गर्नुपर्ने जानकारी पनि दिए । सेनापतिले शाक्य राजा समक्ष कोलीय जनप्रतिनिधि सभाको निर्णय प्रस्तुत गरे । त्यसपछि शाक्य गणराज्यको जनप्रतिनिधि सभाको बैठक राखियो । सिद्धार्थ पनि जनप्रतिनिधि सभामा निर्वाचित सदस्य थिए । तुरुन्तै जनप्रतिनिधि सभाको बैठक शुरु भयो र कोलीय गणराज्यका तर्फबाट आएको आपत्तिका बारेमा सभालाई जानकारी दिइयो । सभाका सदस्य सबैले आ–आफ्नो राय प्रकट गरे । सिद्धार्थले सिमाना नदीको पानी खेर गइरहेको अवस्थामा आफुले किसानहरुलाई अनुमति दिएको सभालाई जानकारी दिए । सन्धि कार्यान्वयन गर्ने सम्बन्धमा प्रवेश गर्दा विषय गम्भीर बन्यो । दुबै राज्यका राजघरानाका वीच भएको सुमधुर सम्बन्धलाई ख्याल गर्दै वीचको कुनै बाटो निश्कन्छ कि भनेर पर्यत्न गर्ने निर्णय भयो । त्यो निर्णय तुरुन्तै कोलीय जनप्रतिनिधि सभामा पठाइयो । त्यसवेला राजाहरुको मर्यादा जनप्रतिनिधि सभामा सबभन्दा उच्च रहे पनि सम्पूर्र्ण कार्यकारी अधिकार सेनापतिको विवेकमा निर्भर गर्दथ्यो । सेनापतिले शाक्य गणराज्यका तर्फबाट पहिलेको सन्धिको प्रावधान भन्दा वीचको उपाय केही निश्कन्छ कि भनेर पठाएको सन्देशलाई कोलीय जनप्रतिनिधि सभामा प्रस्तुत गरे । तर कोलीय जनप्रतिनिधि सभाले त्यो सन्देश मान्न तयार भएन । यो क्रम अनेक पटक भयो तर कोलीय गणराज्य टसकामस भएन ।
कोलीय गणराज्यको राजपरिवारले वीचको उपाय अवलम्बन गर्ने चाहना राखे पनि सेनापति र जनप्रतिनिधि सभाले सर्वसम्मतिमा पहिले गरिएको सन्धि कार्यान्वयन हुनुपर्छ भन्ने अडान लिइरहेको थियो । उसले जबरजस्त रुपमा अगाडि सारेको तर्क के थियो भने पानीमाथिको हाम्रो अधिकार हाम्रो राज्यको सार्वभौम अधिकार हो । सार्वभौम अधिकार छोड्दै जाने हो भने समयक्रममा कुनै दिन हामीले राज्य पनि गुमाउने छौं र अरुको दास भएर बाँच्न पर्ने स्थिति आउनेछ जुन हाम्रा निम्ति मृत्यू बराबर हुनेछ । त्यो कालमा युद्ध हार्ने पक्षलाई जीत्ने पक्षले दास बनाउने चलन थियो । दुबै राज्यले एकअर्काका जनप्रतिनिधि सभाका निर्णय जानकारी गराइरहे । तर शाक्य गणराज्यको राजपरिवार पुरानो सन्धि संशोधन गर्ने पक्षमा मत जाहेर गरिरहयो र जनप्रतिनिधि सभाको मत पनि त्यही रहयो ।

शाक्य जनप्रतिनिधि सभाले पठाएको अनुरोध कोलीय जनप्रतिनिधि सभाले बार बार अस्विकार गरे पछि शाक्य सेनापतिको अनुरोधमा राजाले जनप्रतिनिधि सभाको बैठक बोलाए । बैठकमा केही गरे पनि सन्धि संशोधन हुन नसक्ने अवस्था भए पछि सभा सामु आफ्नो राजकुमार सिद्धार्थलाई मृत्यूदण्ड दिने अथवा कोलीय गणराज्यसंग युद्ध गर्नुपर्ने विषयमा गम्भीर छलफल शुरु भयो । अन्त्यमा सेनापतिले हाम्रो राजकुमारलाई मृत्यूदण्ड कल्पना पनि गर्न नसकिने विषय हो अब युद्ध अनिवार्य छ त्यसको तयारी गरौं भन्ने प्रस्ताव राखे । सिद्धार्थ बाहेक उपस्थित सबै जनप्रतिनिधिहरुले युद्धको पक्षमा मतदान गरे । अनेक पटक सिद्धार्थले युद्धमा जान नहुने बरु यता र उता गरेर सन्धि कार्यान्वयन नहुने अवस्था सृजना गर्ने विषयमा अडि रहे । त्यो देखेर सेनापतिले जनप्रतिनिधि सभाको निर्णय नमान्ने हो भने राजकुमार माथि राजद्रोहको आरोप लगाउन बाध्य हुनुपर्छ, शाक्य गणराज्यको परम्परा पनि त्यही छ भन्दै सेनापतिले युद्धको तयारीका निम्ति प्रस्ताव गरे र सो प्रस्ताव सिद्धार्थ बाहेक अरु सबै सदस्यहरुको समर्थनमा सभाको निर्णय युद्धको तयारीमा तुरुन्तै लाग्नु पर्छ भन्ने भयो । त्यसपछि सभाले अन्तिम पटक राजकुमार सिद्धार्थको मान्यता सुन्न माग ग¥यो ।

सभासदहरुको माग बमोजिम सिद्धार्थ गौतमले त्यो सभामा आफ्नो विचार अत्यन्त गम्भीर मुद्रामा राख्दै भने– हाम्रा पूर्वजहरुले कोलीय गणराज्य र शाक्य गणराज्य वीच सदा सुमधुर सम्बन्ध कायम रही रहोस भनेर नै यस्तो सन्धि गरेका हुनसक्छन् । तर अहिले यो सन्धि अमानवीय, गलत र हानिकारक सन्धिका रुपमा प्रस्तुत भएको छ । यस्तो सन्धिले आज हामीलाई आफ्नै परिवार सदस्य जस्तै अस्तित्वमा रहेका दुई राज्यका नागरिकहरुलाई एक अर्कासंग लड्दै मृत्यूवरण गर्ने र अन्त्यमा राज्य समाप्त हुने अवस्थामा पु¥याउँदै छ । राज्यको धर्म हो आफ्नो सार्वभौमिकता रक्षा गर्दै आफ्ना नागरिकहरुको जीवन रक्षा गर्नु । हामीले युद्धलाई स्वीकार गरेर विपक्षलाई हराउँदै आफ्नो राज्यको रक्षा त गरौंला तर यो स्थायी समाधान हुनसक्ने छैन । हार्ने राज्यले अनेक उपाय गरेर फेरि आफ्नो शक्ति सुदृढ गर्ने छ र पुनः युद्ध हुनेछ । दुई राज्यका वीच रहेको एउटा सानो नदीको पानी बाँडफाँडको विषयले मात्र यस्तो भयानक युद्ध गर्न हामीलाई प्रेरित गरिरहेको छ भने झन युद्ध नै भए पछि एक अर्कालाई समाप्त गरेर मात्र युद्ध समाप्त हुनेछ । युद्ध, युद्ध पछि अर्को युद्ध अर्को युद्ध पछि झन भयंकर युद्ध हुनेछ । अहिले हामी साना गणराज्यका वीच युद्ध गर्नेछौं तर पछि साम्राज्यहरुका वीच पनि युद्ध हुँदै जानेछ र यो श्रृखलाले मानवजातिलाई अमानवीय बनाउँदै लैजाने छ युद्धद्वारा युद्धको समाप्ति कहिल्यै हुनेछैन ।

म बोधिसत्व धर्मको अनुयायी हुँ । धर्म भनेको मानिसले अनिवार्य पालना गर्ने कर्तव्य हो । हाम्रो धर्मले शान्ति, मानवता र अहिंसालाई अवलम्बन गर्छ । दुई परिवार, दुई राज्य वा दुई साम्राज्यका वीच उत्पन्न हुने समस्यालाई परस्पर सम्मान र सदभाव कायम हुने गरी शान्तिपूर्ण तरिकाबाट समाधान गर्न मार्गदर्शन गरेको छ । तर यो समस्या मृत्यूदण्डबाट समाधान हुन्छ भने म खुशी साथ मृत्यूवरण गर्न तयार हुनेछु । तर मेरो मृत्यूदण्डको कार्यान्वयनले अझ धेरै मृत्यूलाई निम्त्याउने अवस्था मैले देखिरहेको छु । मेरो मृत्यूदण्डलाई गर्नका निम्ति नै हाम्रो जनप्रतिनिधि सभाले युद्धको पक्षमा मतदान गरेको हुनुपर्छ । तर युद्धले सिद्धार्थ जस्तै सयौं हजारौं व्यक्तिहरुको हत्या हुनेछ । त्यसो भएर मलाई दिइने मृत्यूदण्ड अस्विकार गरे जस्तै हामीले युद्धलाई पनि अस्विकार गर्नुपर्छ र शान्ति र मानवताको पक्षमा रहने तथा युद्ध गर्न नपर्ने गरी पुरानो सन्धिलाई संशोधन गर्नु अपरिहार्य छ । म आफ्नो विचार प्रति दृढ र प्रतिवद्ध छु । युद्ध होइन शान्ति र मेलमिलापको पक्षमा हामीले कोलीय गणराज्यको जनप्रतिनिधि सभालाई ल्याउने अनेक पर्यत्न गर्नुपर्छ । बरु अन्जानमा भए पनि सन्धि उल्लघंन भएको छ यस वापत अरु कुनै विषयबस्तु क्षेतिपुर्ति वापत दिएर सन्धि संशोधन गर्ने पक्षमा दृढतापूर्वक लागि पर्नुपर्छ । अहिले पनि दुबै राज्यका सभासद र सेनापतिहरुलाई मात्र युद्धका पक्षमा रहेको मलाई अनुभूत भइरहेको छ । युद्धले हाम्रा दुबै राज्य समाप्त हुनेछन् । ठूलो जनधनको क्षेति हुनेछ । बाँचेका जति अर्को ठूलो राज्यका दास बन्न बाध्य हुनुपर्नेछ । त्यसोभएर अहिले पनि मेरो प्रस्ताव छ -शान्ति वार्तालाई निरन्तरता दिदैं दुबै राज्यका जनताको पराजय हुने सम्भावित युद्धलाई पर धकेल्दै जाउँ । कुनै दिन कोलीय जनप्रतिनिधि सभा पनि सन्धि संशोधन गरी मानवताको आधारमा दुबै राज्यका नागरिकहरुका वीचको अझ सुमधुर सम्बन्ध कायम गर्ने नयाँ सन्धिमा सहमत हुने स्थिति आउने छ । सभाध्यक्ष तथा सेनापतिसंग मेरो विनम्र अनुरोध छ हाम्रो यो सभाको बैठक अन्त्य नगरौं छलफल जारी राख्ने गरी बैठकलाई स्थगित मात्र गरौं भन्दै सिद्धार्थले आफ्नो विचार अन्त्य गरे । त्यसपछि राजकुमारको प्रस्ताव बमोजिम सभा स्थगित भयो । सिद्धार्थको विचार सुनिसके पछि सेनापति बाहेक अरु सबै उपस्थित सभासदहरु ज्यादै खुशी भए र सबैको भन्दा खुशी देखिए राजा शुद्धोधन ।

सभाको बैठक सकिए पछि सिद्धार्थ दरबार पुगेर आफ्नो पितासंग लामै समय लगाएर गोप्य वार्ता गरे । उनले आफ्नो बाबुसंग दुई राज्का वीचको सम्बन्ध युद्ध रहित बनाउन आफुले गृह त्याग गरेर जानुको विकल्प छैन भन्दै आफुलाई बोधिसत्व धर्म अन्तरगत धर्म प्रचारकका निम्ति प्रवज्य ग्रहण गर्न अनुमति दिन अनुरोध गरे । राजकुमारको यो प्रस्ताव राजा शुद्धोधनका निम्ति ज्यादै असह्य थियो तर सन्धिका प्रावधनाहरु कार्यान्वयन गर्नु भन्दा सिद्धार्थको प्रस्ताव शाक्य र कोलीय दुबै राज्यहरुका निम्ति उपयुक्त मान्न कर लाग्यो । सिद्धार्थको प्रस्ताव बोधिसत्व धर्म अनुरुप पनि थियो । शुद्धोधन पनि बोधिसत्व धर्मको अनुयायी भएको नाताले पनि ज्ञान प्राप्तिको मार्गमा लाग्ने विचार उत्तम ठानेर अनिच्छा पूर्वक गृह त्याग गर्ने सिद्धार्थको प्रस्तावलाई स्वीकार गरे । राजाको स्वीकृति पछि घोडा तयार गरियो र उनीसंगै जान एक जना विश्वासी रक्षक पनि व्यवस्था गरियो । त्यसैदिन सिद्धार्थ २९ वर्षमा प्रवेश गरेका थिए त्यो दिन त्यही सालको बैसाख शुक्ल पूर्णीमा थियो । बाबुछोराको सल्लाह बमोजिम मध्यरातमा सिद्धार्थ गौतमले कठोर तपस्या गरेर भए पनि बोधिसत्व प्राप्त गर्न प्रवज्य ग्रहण गरी अगाडि बढ्ने दृढ निश्चयका साथ गृह त्याग गरे । आफूले सहमति दिएको विषयलाई राजाले लामो समयसम्म गोप्य राखे । प्रवज्य धारण गरेको ७ वर्ष पछि अनेकौं परिक्षा पार गर्दै बोधगयामा उनले चार आर्य सत्य सम्बन्धि महाज्ञान प्राप्त गरे र आफूलाई बोधिसत्व घोषणा गरे । चार आर्य सत्य भन्नाले संसार दुखैदुखले भरिएको छ, दुखका कारणहरु छन, सबै दुखहरुलाई निवारण गर्न सकिन्छ र अन्तमा कहिल्यै दुख नहुने ज्ञान प्राप्त गरी महापरिनिर्वाण प्राप्त गर्न सकिन्छ । त्यसपछि उनी बोधिसत्व हुँदै बुद्धका रुपमा स्थापित भए । महाज्ञानमा आधारित भएर अरु धेरै आचारसंहिताहरु तयार गरियो । बुद्धले प्राप्त गरेका ज्ञान र विकसित गरेका सिद्धान्तहरुको ग्रन्थको नाम हो त्रिपिटक । महाज्ञान प्राप्ति पछिको आफ्नो जीवन सिद्धार्थ गौतम बुद्धले महाज्ञान प्रचारमा समर्पित गरे । उनको विचारको पक्षमा प्रभावित हुदैं प्रवज्य प्राप्त गर्नेहरुको संख्या अत्यधिक बृद्धि हुँदै गयो । त्यसपछि बुद्धसभाहरु स्थापना गर्ने, तिनलाई व्यवस्थित गर्ने र जीवन निर्वाहका आचारहरु निर्धारण गर्ने कामहरु भए । बुद्ध सभाका नियमहरु व्यवस्थित गर्ने कामहरु भए । कुनै पनि व्यक्ति एक्लै बाँच्न नसकिने र त्यसमा आधारित भएर समूहहरु बन्ने हुनाले बुद्ध सभाहरुलाई सामूहिकतामा आधारित गराइयो । सिद्धार्थ गौतम बुद्धका सम्बन्धमा मैले प्रस्तुत गरेको यो विचार मिथकमा आधारित मान्यतालाई अवलम्बन गर्नेहरुलाई मान्य नहुन सक्छ । मेरो यो विचार बुद्ध धर्मका महापण्डीतहरु राहुल साकृत्यान, धर्मानन्द कौशभी र डा.भीमराव अम्बेडकरका अनेकौं रचनाहरुमा छाएका विचारहरुमा आधारित छ । यो सन्दर्भलाई अन्त्य गर्दै म नेपालको कालापानी क्षेत्रबाट भारतीय सुरक्षाफौज र कर्मचारी जति सक्यो चाँडो हट्नुपर्छ भन्ने मान्यतालाई अगाडि बढाउँछु ।

आफ्नो राज्यको सार्वभौमसत्ता कुनै पनि व्यक्तिका निम्ति प्राण भन्दा महत्वपूर्ण हुन्छ । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुराको भूमि नेपालको सार्वभौम अधिकार क्षेत्रभित्रको कहिल्यै छोड्न नसकिने नेपाली जनताको अधिकार हो । नेपालको त्यस क्षेत्रमा भारतले अतिक्रमण गरेर ठूलो ज्यादती गरेको छ । हामी सिद्धार्थ गौतम बुद्धका सन्तान हौं युद्ध हामीले चाहना कहिल्यै गर्नुहुदैंन । नेपालका जनप्रतिनिधि संस्थाहरु राष्ट्रिय सभा र प्रतिनिधि सभा तथा नेपालका सबै राजनीतिक पार्टीहरुको सर्वसहमतिमा भारतले अतिक्रमण गरेको त्यो भूमि नेपाली जनताको सार्वभौम अधिकारको अनुल्लंघनीय हिस्सा हो भन्दै २०७७ साल जेठ ७ गते अतिक्रमित भूमि समेत समावेश गरिएको नक्सा पुनः जारी गरियो । भारतले नेपालको यो निर्णयलाई सम्मान गर्दै समर्थन गर्नुपर्छ र त्यहाँबाट भारतीय फौंज र अन्य कर्मचारीहरु तुरुन्त हटाउनु पर्छ ।

नेपाललाई सबै क्षेत्रमा आफ्नो सार्वभौम सत्ताको रक्षाका निम्ति सहयोग पुग्ने गरी दुई विद्वानहरु डा.सुरेन्द्र भण्डारी र डा.अच्युत गौतमद्वारा संयुक्त रुपमा तयार गरिएको यो पुस्तक अनेक हिसाबले धेरै महत्वपूर्ण रहेको छ । पुस्तक अंग्रेजीमा प्रकाशित गर्नु भएको भए पनि छिट्टै उहाँहरुले यसको नेपाली संस्करण पनि प्रकाशित गर्नुहुनेछ । अंग्रेजी पढ्न र लेख्न नसक्ने नेपालीहरुको संख्या आधा भन्दा धेरै भएको सबैलाई जानकारी हुनुपर्छ । यो पुस्तक सबै नेपालीले अध्ययन गर्न पाउनु पर्छ । यस्तो पुस्तक तयार गरिसकेपछि सबै नेपालीको हातहातमा पु¥याउनु हामी सबैको कर्तव्य पनि हो ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७