सकियो फिल्म ‘पशुपति प्रसाद २: भष्मे डन’ को छायांकन

काठमाडौं । दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘पशुपति प्रसाद २: भष्मे डन’ को छायांकन सकिएको छ ।

निर्देशक खनालले सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गर्दै फिल्मको छायांकन सकिएको जानकारी दिएका हुन् । उनका अनुसार २ महिनामा फिल्मको छायांकन सकिएको हो ।

टुकी आर्टस् ब्यानरमा निर्माण भएको फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा सिवाकोटी, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगरलगायत कलाकारको अभिनय छ ।

 

फिल्मको कथा खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्मको निर्माता पनि खगेन्द्र स्वयम् हुन् ।

कृष्ण थापाले छायांकन गरेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गर्नेछन् । यो फिल्म आगामी दशैंको फूलपातीदेखि प्रदर्शन हुनेछ ।

२०७३ सालमा रिलिज भएको फिल्म ‘पशुपति प्रसाद’ को स्पिन-अफको शीर्ष भूमिकामा विपिन कार्की छन् । ‘पशुपति प्रसाद’ मा उनले भष्मे डनकै भूमिका निर्वाह गरेका थिए ।

फिल्ममा ७ वर्षभित्र भष्मे डनको जीवनमा आएका उतारचढावलाई फिल्ममा देखाइने छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१