
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ‘पपुलिस्ट’ कुरा गरेर राजनीति गर्ने र छोएर रोग निको पार्ने दाबी गर्ने सिमान्त गुरू एकै भएको बताएका छन्। खासगरी उनको यो राष्ट्रिय स्वतन्त्र पार्टी र अध्यक्ष रवि लामिछानेप्रति लक्षित भनाई हो ।
एमालेले संसदमा छलफल भइरहेको नीति तथा कार्यक्रमलाई गतिविहीन दस्तावेज बताउँदै खारेज या पुनःलेखन गर्न भनेको छ। यसमा रास्वपालगायत विपक्षी दलको खासै समर्थन नपाएपछि महासचिव पोखरेलले कटाक्ष गरेका हुन्।
उनले पुरानो होइन नयाँ भनेर नीतिविहीन, उद्देश्यविहीन पपुलिस्ट राजनीति गर्नेहरूले ठीक र बेठीक छुट्टयाउने द्वन्द्वात्मक चेतनावाट समाजलाई विमुख बनाएको आरोप लगाएका हुन्।
यस्तो अवस्थामा सत्यलाई स्थापित गर्न कठिन भयो भनेर सत्यको मार्ग छोड्नु नहुने उनको भनाइ छ।