
काठमाडौं । काठमाडौं महानगरपालिकाले हरेक हप्ताको शुक्रबार ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालन गरिरहेको छ । यो कार्यक्रम सञ्चालन भएको आज ३ हप्ता भएको छ ।
शुक्रबारको दिन सामुदायिक विद्यालयमा सीप, उद्यमशीलता, खेलकुद, सङ्गीत, कला तथा नेतृत्व विकासका लागि प्रशिक्षण कार्यक्रमको सञ्चालन गरिने गरिन्छ । काठमाडौं महानगर प्रमुख बालेन शाह ५६ वटा सामुदायिक विद्यालयमा ‘शिक्षामा सिप’ कार्यक्रमको अनुगमनको सुरुवात समेत गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ‘हाम्रो चुनावी घोषणापत्रमा हप्तामा एक दिन सामुदायिक विद्यालयमा सीप, उद्यमशीलता, खेलकुद, सङ्गीत, कला तथा नेतृत्व विकासका लागि प्रशिक्षण कार्यक्रमको व्यवस्था गरिने उल्लेख गरिएको थियो । सोही घोषणा अनुरूप महानगरको सबै सामुदायिक विद्यालयमा ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालन भइरहेको छ ।’
आज तेस्रो हप्तामा वडा नम्बर ५ स्थित टंगाल मावि र वडा २५ स्थित कन्या माविमा अनुगमन गरिएको छ ।
‘टंगाल माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीले काष्ठकला र मोबाइल मर्मत सम्बन्धी तालिम लिँदै छन् । उक्त कार्यक्रममा सहभागी नभएका विद्यार्थी भाइबहिनीहरूले अन्य अतिरिक्त क्रियाकलापमा हस्तकला बनाउने, कक्षा कोठा सजाउने कार्यक्रम गरेका थिए । यस्तै कन्या माविका विद्यार्थी भाइबहिनीहरूले सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), कपडा निर्माणको तालिम लिँदै छन् । ’ उनले भनेका छन् ।