सन्दीपविरुद्ध मुद्दाको अन्तिम फैसला गर्न न्यायाधीश राईको इजलासमा पेसी

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि न्यायाधीश शंकरबहादुर राईको इजलासमा पेसी तोकिएको छ ।

पेसीको तेस्रो नम्बरमा परेकाले उक्त मुद्दा आज सुनुवाइ हुने सम्भावना देखिएको छ ।

यसअघि गत मंसिर ७ देखि १४ गतेसम्म उक्त मुद्दाका पक्ष–विपक्ष दुवैको बयान र बकपत्र पनि राईकै इजलासमा भएको थियो ।

मुद्दाको अन्तिम फैसला आज आए सन्दीप कि फेरि जेल जानेछन् कि मैदान फर्किने छन् ।

यसअघि लगातार पेसी तोकेर पनि मुद्दाको फैसला पछि सरेको सर्‍यै गर्दा अन्तिम सुनुवाइ हुन सकेको छैन । जसका कारण लामिछाने राष्ट्रिय टोलीसँग अफ्रिका जाने कार्यक्रमसमेत अनिश्चित बनेको छ ।

राष्ट्रिय क्रिकेट टोलीका अन्य सदस्य बन्द प्रशिक्षणमा सहभागी भइरहँदा पूर्वकप्तान लामिछाने बिदामा बसेका छन् । नेपाली टिमका म्यानेजर विनोद दासले सन्दीप अनुमति लिएरै बिदामा रहेको बताए ।

खासगरी सन्दीप आफूविरुद्धको बलात्कार मुद्दा फैसलाका लागि पेसी तोकिएपछि त्यसको तयारीका लागि बिदामा रहेका हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१