समुद्रमा खस्याे उत्तर काेरियाकाे जासुसी भूउपग्रह

उत्तर कोरियाले आफूले अन्तरिक्षमा प्रक्षेपण गर्ने तयार पारेको एउटा भूउपग्रहमा खराबी देखिएपछि त्यो समुद्रमा खसेको जनाएको छ।

उक्त रकेट प्रक्षेपण गरिएपछि जापान र दक्षिण कोरियाले छोटो समयका लागि आफ्ना नागरिकहरूलाई सुरक्षित ठाउँमा आश्रय लिन भन्दै चेतावनी जारी गरेका थिए।

तर लगत्तै उनीहरूले त्यसलाई हटाएका थिए। उत्तर कोरियाली सञ्चारमाध्यमका अनुसार सैनिक निगरानीसँग सम्बन्धित उक्त भूउपग्रह समुद्रमा खसेको थियो।

दक्षिण कोरियाली सेनाले उक्त रकेट रेडारबाट गायब भएको र त्यो दुर्घटनाग्रस्त वा विस्फोटन भएको जनाएको छ।

सुरुमा जापानी सेनाले उक्त वस्तु दक्षिणमा अवस्थित ओकिनावा टापुतर्फ आउँदै गरेको बलिस्टिक क्षेप्यास्त्र भएको जनाएको थियो। तर पछि उसले त्यो समुद्रमा खसेको उल्लेख गरेको थियो।

यसअघि उत्तर कोरियाले अमेरिकी सैन्य गतिविधिलाई निगरानी गर्न जून ११ भित्र भूउपग्रह प्रक्षेपण गर्ने योजना रहेको बताएको थियो।

अब उसले सम्भव भएसम्म चाँडो दोस्रो भूउपग्रह प्रक्षेपण गर्ने जनाएको छ।

जापानी प्रधानमन्त्री फुमिओ किसिदाले उत्तर कोरियाले बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जस्तो देखिएको भन्दै सरकारले विस्तृत विश्लेषण गरिरहेको जनाएका छन्।

उनले कुनै पनि क्षतिको विवरण नरहेको पनि बताए।

यसअघि जापानले आफ्नो भूभागमा जोखिम पुर्‍याउने कुनै पनि वस्तु खसाल्न तयार रहेको बताएको थियो।

दक्षिण कोरियाको राजधानी सोलको अवस्था अझ अस्तव्यस्त एवं अन्योलपूर्ण थियो।

कोरियाली समय अनुसार बुधवार बिहान मानिसहरू चेतावनी दिने साइरनबाट ब्युँझिएका थिए भने उनीहरूलाई तुरुन्तै सुरक्षित ठाउँमा जान चेतावनी दिने सन्देशहरू आएका थिए।

तर २० मिनेटपछि ती सन्देश जानुमा त्रुटि रहेको उल्लेख गरिएको थियो।

कोरियाली प्रायःद्वीपमा तनावहरू चर्किएका छन्। उत्तर र दक्षिण कोरियाबीचको ७० वर्ष देखिको तनावमाझ झुक्क्याउने खालको साइरनले चेतावनी प्रणालीप्रतिको मानिसको भरोसा गम्भीर रूपमा कमजोर बनाउन सक्ने ठानिन्छ।

उत्तर कोरियाले दक्षिण कोरियामाथि खतरा उत्पन्न गराउने गरेका ठानिन्छ र भविष्यमा चेतावनी जारी गरिएको समयमा त्यसलाई गम्भीरतापूर्वक लिइनेछ वा अर्को त्रुटि ठानेर बेवास्ता गरिनेछ भन्ने प्रश्न खडा भएको छ।

दक्षिण कोरियाको सेनाले उक्त रकेट उडिरहेको समयमा नै टुक्राटुक्रा भएको वा रेडारबाट पर गइसकेपछि क्षतिग्रस्त भएको हुनसक्ने बताएको छ। योनहाप समाचार संस्थाका अनुसार त्यसको विश्लेषण भइरहेको सेनाले जनाएको छ।

मङ्गलवार उत्तर कोरियाको सत्तारुढ दलको केन्द्रीय सैनिक आयोगका उपाध्यक्ष री प्योङ चोलले उक्त प्रक्षेपणको योजना घोषणा गर्दै त्यो अमेरिका र दक्षिण कोरियाको ‘लापरबाहीपूर्ण सैनिक गतिविधि’ को परिणाम भएको बताएका थिए।

उनले ती देशहरूले ‘खुलेआम रूपमा अतिक्रमणको महत्त्वाकाङ्क्षा देखाइरहेको’ आरोप लगाए।

बुधवारको प्रक्षेपणअघि अमेरिकी विदेश मन्त्रालयले उत्तर कोरियाबाट हुने कुनै पनि बलिस्टिक क्षेप्यास्त्र प्रविधिको प्रक्षेपणले राष्ट्र सङ्घको सुरक्षा परिषद्का कैयौँ प्रस्तावहरू उल्लङ्घन गर्ने बताए।

दक्षिण कोरियाको विदेश मन्त्रालयले पनि यसै हप्ताको सुरुमा त्यस्तो प्रक्षेपणको निन्दा गरेको थियो।

“यदि उत्तर कोरियाले प्रक्षेपणलाई अघि बढाउने नै निर्णय गर्‍यो भने उसले त्यसको मूल्य चुकाउनुपर्नेछ र पीडा खेप्नुपर्नेछ।”

उत्तर कोरियाली नेता किम जङ अनले सैनिक भूउपग्रहको विकासलाई देशको प्रतिरक्षामा महत्त्वपूर्ण योगदान दिनसक्ने पूर्वाधार ठानेका छन्।

सोलस्थित एकजना प्राध्यापक लिइफ एरिक लेफको भनाइमा उत्तर कोरियाको सरकारले आफू अन्तरिक्ष अभियानमा अघि बढ्सक्ने ठानेको छ।

अहिलेको उसको भूउपग्रह अभियान सफल नभए पनि त्यसले उसको अन्तरिक्ष सामर्थ्यबारे राजनीतिक प्रचारबाजी सिर्जना गर्ने उनको भनाइ छ।

-बीबीसी नेपालीबाट । 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१