
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणलाई लिएर उत्पन्न विवादले प्रतिनिधिसभा बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुबीच जुहारी नै चलेको छ ।
आफ्नो भारत भ्रमणको बारेमा उठेको प्रश्नहरुको जवाफ दिने क्रममा रोष्टममा उभिएका प्रधानमन्त्री दाहाललाई प्रतिपक्षी दलका सांसदहरुले अवरोध गरेका छन् । जसका कारण उनले आफ्नो भनाई समेत राख्नसमेत पाएनन् ।
नागरिकता विधेयक प्रमाणीकरणका सन्दर्भमा प्रधानमन्त्री दाहालले प्रष्टीकरण दिइरहेका बेला सुरूमा एमाले सांसदले उठेर अवरोध गरेका थिए ।
त्यसपछि प्रधानमन्त्री दाहाल बोल्न थाल्दा फेरि एमाले सांसदहरू उठेका थिए । त्यसपछि सत्तापक्ष र प्रतिपक्षका सांसदहरू पनि वादविवादमा उत्रिएका थिए ।
सभामुखले नियमआपत्तिका बारेमा केही धारणा भए राख्नका लागि आह्वान गरेपछि केही समयमा वातावरण सहज बनेको थियो । त्यसपछि प्रधानमन्त्रीले जवाफ दिए ।