
काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेड र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) विच वित्तीय र डिजिटल साक्षरता पहल सम्बन्धि सम्झौता भएको छ ।
बैंकले आम जनमानसमा वित्तिय साक्षरता जगाउने उद्धेश्यले प्याब्सन संगको सहकार्यमा देशव्यापीरुपमा वित्तिय एंव डिजिटल साक्षरता कार्यक्रम संचालन गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।
सोमबार राजधानीको होटल याक एण्ड यतीमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच उक्त सम्झौतामा माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एंव निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का तर्फबाट अध्यक्ष डिके ढुङ्गानाले हस्ताक्षर गरेका हुन् ।
उक्त कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्दैशक गुरु प्रसाद पौडेलले माछापुच्छ्रे बैंक तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को सहकार्यमा सञ्चालन हुने उक्त वित्तिय एंव डिजिटल साक्षरता कार्यक्रममा आवश्यक परेको खण्डमा नेपाल राष्ट्र बैंकको तर्फबाट सहयोग प्रदान गर्ने बताउँदै पछिल्लो समयमा ग्राहकवर्गमा चेतनाको कमि र सामान्य त्रुटिका कारण पनि ठूला ठूला वित्तिय अपराधहरु भइरहेकोले विद्यालय स्तरमा आयोजना हुने यस्ता कार्यक्रमहरुले विद्यार्थी मात्र नभएर उनिहरुका अभिभावकसम्म जनचेतना फैलाउन महत्वपूर्ण भूमिका निवार्ह गर्ने विश्वास व्यक्त गरे ।
त्यसैगरि, उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंक लि.का अध्यक्ष एंव गैरआवासिय संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले विभिन्न तहका विद्यार्थीहरुको पाठ्यपुस्तकमा बैंकिङ्ग शिक्षासँग सम्बन्धित विभिन्न जानकारीहरु समावेश गर्नसकेको खण्डमा अझ उपर्युक्त हुने भन्दै यसका लागि पहल थालिनुपर्नेमा जोड दिए । उनले सैद्धान्तिक भन्दा पनि व्यवहारिक शिक्षामा जोड दिनुपर्ने आजको आवश्यकता रहेको बताए ।
सोही कार्यक्रममा बोल्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष डि.के ढुङ्गानाले प्याब्सनले आफ्नो शैक्षिक क्यालेण्डरमा समेत बैंकिङ्ग शिक्षा लगायतका विषयहरुलाई समावेश गरेको जानकारी गराउँदै माछापुच्छ्रे बैंक र प्याबसनबीचको सम्झौताले बैंकिङ्ग शिक्षालाई गाउँगाउसम्म पुर्याउन र पछिल्लो समय डिजिटल कारोबार बढेसँगै बढ्दै गइरहेका डिजिटल अपराधहरुलाई न्यूनीकरण गर्न निकै ठूलो भुमिका खेल्ने बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले अहिले बैंकिङ्ग उद्योगको मुख्य चुनौतीको रुपमा रहेको डिजिटल अपराधलाई कम गर्नका लागि बैंकले प्याब्सनसँग सहकार्य गरेको जानकारी गराउँदै उक्त सम्झौताको माध्यमबाट बैंक अझ बृहत् रुपमा आम जनमानसमा सचेतना जगाउन सफल हुने र यस्ता सचेतनामुलक कार्यक्रमहरुलाई आगामी दिनमा पनि अझ प्रभावकारी रुपमा अगाडी बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
उक्त सम्झौता पश्चात् प्याब्सनसँगको सहकार्यमा अब बैंकले वित्तीय साक्षरता, डिजिटल अपराधबारे सचेतनामुलुक कार्यक्रमहरु देशव्यापीरुपमा सञ्चालन गर्नेछ भने प्याब्सनले आफूसँग आवद्ध शैक्षिक संस्थाहरूलाई समन्वय र सहजीकरण गर्नेछ ।