
काठमाडौं । काठमाडौंको कमलादीमा सिसामाथि हिँड्न मिल्ने ‘स्काइ–वाक टावर’ सञ्चालनमा आएको छ । करिब दुई अर्ब रुपैयाँ लगानीमा ‘स्काई–वाक’ (सिसामा टेकेर हिँड्न मिल्ने) टावर निर्माण भएको हाे ।
‘वन्डर्स नेपाल’ कम्पनीले शुक्रबार बिहान ८ बजेदेखि टावर औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो । १३ रोपनीमा फैलिएको टावर ७८.५ मिटर अग्लो छ । टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामाथि हिँड्न पाइन्छ ।
काठमाडौंमा नयाँ र भिन्न स्वादको पयर्टकीय गन्तव्य थप्ने उद्देश्यले वन्डर्स नेपाल नामक कम्पनीले २३ तलामाथि सिसामा उभिन र हिँड्न मिल्ने संरचना तयार पारेको हो ।
७८.५ मिटर उचाइको यस संरचनामा १८ तलासम्म लिफ्ट चल्छ । त्यसमाथिका तलामा होटेल, क्लब र इभेन्ट एरिया छन् भने २३औँ तला अर्थात् सबैभन्दा टपबाट टावरको फेदसम्म देखिने गरी सिसा बिछ्याइएको छ ।
‘स्काई वाक’को डिजाइन स्टिल स्ट्रक्चरमा भएको छ । भूकम्प प्रतिरोधात्मक र सबै मापदण्ड पूरा गरेका कारण टावर पूर्ण सुरक्षित रहेको कम्पनीको दाबी छ ।
२५ तल्ला रहेको टावरमा २२ तलासम्म लिफ्ट चडेर र बाँकी तीन तलामा सिँढीमार्फत माथि जान सकिन्छ ।
दुई वटा लिफ्ट सुविधा रहेको टावरमा एक पटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने क्षमता रहेको वन्डर्स ग्रुप प्रालिका अध्यक्ष आकर्षण पोखरेलले जानकारी दिए ।
यहाँ प्रयाेग गरिएकाे सिसा एकदम मजबुत रहेकाे पनि पाेखरेलले जानकारी दिए । यसमा सुरुमा १० एमएमको टेम्पर ग्लास त्यसपछि १.५२ एमएमको लेमिनेटिङ लेयर र पुनः १० एमएमको टेम्पर ग्लास, १.५२ एमएमको लेमिनेटिङ लेयर र अन्तिममा १० एमएमको टेम्पर ग्लास गरी पाँचवटा (दुईवटा सिसा र तीनवटा टेम्पर ग्लास) लेयर राखिएको छ ।
स्काइ टावरमा जानका लागि प्रतिव्यक्ति एक हजार शुल्क तिर्नुपर्छ । टावरमा प्रवेश गर्नका लागि ८० वर्ष माथिका ज्येष्ठ नागरिक र ३ फिट उचाइसम्मको बच्चालाई शुल्क लाग्दैन । ७० देखि ८० वर्षसम्मका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट रहेको छ ।