एनआरएनए जापानको अध्यक्षका उम्मेदवार सिद्धार्थ श्रेष्ठ

जापान । गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्ष पदमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी दिने भएका छन् ।

विगत १५ वर्षदेखि जापान रहेर व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठले गैरआवसीय नेपाली संघ एनआरएनए जापानको आसन्न नेतृत्वका लागि उम्मेदवारी दिने भएका हुन् ।

बाग्लुङ समाज जापानको अध्यक्ष भैसकेका श्रेष्ठ एनआरएनए जापानको सल्लाहकार, मानर्थ सदस्य, प्रवक्ता हुँदै अहिले महासचिव पदमा कार्यरत छन् । एनआरएनको अन्तर्राष्ट्रिय अभियानमा श्रेष्ठ सुशासनको क्षेत्रमा काम गर्ने नेताको रुपमा चिनिन्छन् ।

प्रवक्ता रहँदा उनले एनआरएनए जापानमा भएको करोडौं भ्रष्टाचारविरूद्ध चर्को आवाज उठाएका थिए । सो भ्रष्टाचारको घटना सार्वजनिक गरेपछि सत्य तथ्य पत्ता लगाउन संस्थापक अध्यक्ष राजन प्रधानाङ्गकाे संयोजकत्वमा पाँच सदस्य छानबिन समिति गठन भएको थियो ।

सो समितिले झन्डै दुई करोडभन्दा माथिको रकम अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

जापानका नेपाली समुदायमा परेका समस्या नाजिकबाट नियालेर समाधानमा निरन्तर रूपमा लागि परेका श्रेष्ठ यतिबेला एनआरएनए जापानकाे अध्यक्ष पदकाे उम्मेदवारकाे रुपमा प्रस्तुत भएका छन् । उनले सहयोगकाे लागि जापानबासी नेपाली जनहरूमा अपिल पनि गरेका छन् ।

बाग्लुङ स्थायी घर भएका श्रेष्ठ तेक्वान्दोका राष्ट्रिय स्तरका खेलाडीसमेत हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१