कोसोभोको संसदमा कुटाकुट

काठमाडौं । कोसोभोको संसदमा बिहीबार सांसदहरूबीच कुटाकुट भएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार पोडियममा बोलिरहेका प्रधानमन्त्री आल्बन कुर्तीलाई एक जना विपक्षी सांसदले पानी छ्यापेपछि कुटाकुट सुरू भएको हो ।

कोसोभोको संसदमा उत्तरी क्षेत्रमा सर्वियन आदिवासीको मुद्दाका विविध विषयमा बहस भइरहेको थियो ।

प्रधानमन्त्री बोलिरहेका बेला विपक्षी सांसदले पानी छ्यापेपछि सत्तारूढ दलका सांसदले उनलाई रोक्न खोजेका थिए । त्यसपछि अरू विपक्षी सांसदहरू पनि कुटाकुटमा सहभागी भएका थिए ।

प्रधानमन्त्री कुर्तीलाई स्कर्टिङ गरेर बाहिर निकालिएको थियो भने कुटाकुट गरिरहेका सांसदलाई रोक्न प्रहरी परिचालन गरिएको थियो ।

सांसदहरूले कुटाकुट गरेपछि संसद दुई घन्टाका लागि स्थगित गरिएको थियो ।

सन् २००८ मा सर्वियाबाट अलग भएर बनेको कोसोभोमा ९० प्रतिशत अल्बानियनहरू छन् भने उत्तरमा सर्वियासँग सीमा जोडिएको क्षेत्रमा ५ प्रतिशत सर्वियन छन् ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१