लाचार बाग्लुङ नगरपालिका : छेवैको इमेजले अर्बौँ ठग्दा चाल नपाउने, ऋण तिर्न सर्वसाधारणलाई उर्दी !

बाग्लुङ । बाग्लुङ नगरपालिकाले सहकारी संस्थाबाट लिएको ऋण समयमै चुक्ता गर्न ऋणी सदस्यहरुलाई सूचना जारी गरेको छ । पटक-पटक ऋण तिर्नका लागि ताकेता गर्दा पनि नतिरेको भन्ने गुनासोहरु आएको भन्दै नगरपालिकाले यस्तो सूचना जारी गरेको हो । ऋणी सदस्यहरुले समयमै ऋण चुक्ता नगरे प्रचलित कानुनबमोजिम कारवाही गर्ने चेतावनीसमेत नगरपालिकाले दिएको छ ।

यसो त बाग्लुङ नगरपालिकामा संचालित दुई वटा सहकारीले बचतकर्ताको अर्बौं रुपैयाँ अपचलन गरेर भागेको भन्दै दिनहुँ बाग्लुङमा प्रदर्शन भइरहेको छ । ‘इमेज बचत तथा ऋण सहकारी संस्था’ र ‘शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था’ ले अर्बौं रकम हिनामिना गरेपछि यतिबेला बाग्लुङ बजार अशान्त छ । बचतकर्ताले दिनहुँजसो जिल्ला प्रशासन कार्यालय र सहकारीको कार्यालय अगाडि आन्दोलन र प्रदर्शन गर्दै आइरहेका छन् ।

नगरपालिकाको कार्यालयबाट झन्डै १०० मिटरकाे दुरीमा रहेको इमेज बचत तथा ऋण सहकारी संस्था अगाडि बचतकर्ताको रुवाबासीलाई नजरअन्दाज गरेको नगरपालिकाले सहकारीको ऋण समयमै चुक्ता गर्न ऋणी सदस्यहरुलाई भने चेतावनीसहितको सूचना प्रवाह गरेको छ ।

बचतकर्ताको हारगुहारलाई सम्बोधन गर्न खासै चासो नदेखाउने नगरपालिका र जनप्रतिनिधिले अरु के काम गर्लान् ? भन्ने प्रश्न पनि अहिले उब्जिएको छ । ‘ऋण चुक्ता गर्न भन्दै सूचना निकाल्ने नगरपालिकाले अर्बौं पैसा लुटेर भाग्ने इमेज सहकारीकाविरुद्ध किन केही बोल्दैन ? के नगरपालिकाका प्रतिनिधिको पनि यसमा मिलेमतो छ ?’ आक्रोशित हुँदै एक बचतकर्ताले प्रश्न गरे ।

अहिले ऋण तिर्न उर्दी जारी गर्न आदेश दिने बाग्लुङ नगरपालिकाकाे असाढ २८ गतेकाे सूचनाले नगरभित्रका सहकारी संस्थाको नियमन, अनुगमनको दायित्व पनि बोकेको कुरा देखाउँछ तर इमेज सहकारीको बाग्लुङ बजारस्थित शाखा र शिवशिखर सहकारीको बाग्लुङ शाखाले अर्बौ पैसा झ्वाम पारेर बेपत्ता हुने स्थिति आइसक्दा समेत अनुगमन गरेर बचतकर्तालाई सचेत गराउन कुनै सूचना किन निकालेन ? सहकारी भाग्ने अवस्था आइसक्दा पनि अहिले जस्ताे गरी उर्दी जारी गर्न नसक्नु नगरपालिकाकाे लाचारी हाे ।

यसकारण इमेज र शिवशिखर सहकारीमा जुन किसिमको हर्कत भएकाे छ त्यसको जिम्मा बाग्लुङ नगरिपलिका र अहिले ऋण तिर्न उर्दी जारी गर्ने सम्बन्धित निकायले लिने कि नलिने ? बाग्लुङ बजारका इमेज सहकारीका पीडित भन्छन्, ‘अहिले ऋण तिर्न उर्दी जारी गरेर सहकारी संस्थाको जिम्मा लिएको बाग्लुङ नगरपालिकाले जनताको पैसा हिनामिना गरेर भाग्ने इमेज र शिवशिखरको दायित्व पनि बहन गरोस् नभए अबको आन्दोलन जिल्ला प्रशासन कार्यालय हैन बाग्लुङ नगरपालिकाको कार्यालय र जनप्रतिनिधिको घरघरमा हुन्छ ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१